भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा यस वर्ष अवैध बालविवाहविरुद्ध सरकारले गरेको दोस्रो कारबाहीका क्रममा यो बर्ष एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् , यद्यपि, यो शताब्दीमा भारतमा बालविवाहको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको देखिन्छ ।आसाम राज्यले गत फेब्रुअरीमा चार हजार जनालाई पक्राउ गरिसकेको थियो, जसमा विवाहित दम्पतीका आमाबाबु र कम उमेरका विवाहमा हस्ताक्षर गर्ने रजिष्ट्रारहरू पनि सामेल थिए ।

राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार सुरु गरेको छ ।उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्नुभएको छ, “पक्राउ पर्नेको सङ्ख्या अहिले एक हजार ३९ पुगेको छ । यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।”

सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने योजनासहित प्रशासनले नयाँ अभियान चलाएको शर्माले बताएका छन् । भारतमा १८ बर्षभन्दा माथिको विवाहलाई कानुनी विवाहको मान्यता दिइएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बालबालिकाहरु वैवाहिक बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको कम उमेरमा नै विवाह गरिदिन्छन् ।  

बालविवाह हुँदा खास गरी केटीहरूले आफ्नो विवाहपछिको घरमा परिवारका लागि खाना पकाउन, घरको सरसफाई र अन्य घरेलु कामकाजका लागि विद्यालय छोड्छन् । यसको परिणाम विनाशकारी हुन सक्छ, किनकि र सानै उमेरमा विवाह गरेर विद्यालय छोड्दा उनीहरूले शैक्षिक ज्ञान आर्जन गर्न सक्दैनन् र सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्य समस्याहरू पनि भोग्ने गरेका प्रशस्तै उदाहरण पनि देख्न सकिन्छ ।

सन् २०१७ को एक ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले बाल विवाहलाई दुरूत्साहन गर्न कम उमेरकी श्रीमतीसँग यौन सम्बन्ध राख्नु पनि बलात्कार भएको फैसला सुनाएको थियो । तर फैसलालाई भारतका अधिकांश पाहाडी क्षेत्रमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन सकिएको देखिँदैन ।