अष्ट्रेलिया र नेपालबीच रहिआएको दौत्य सम्बन्धको छ दशकमा अष्ट्रेलियाली संसदीय टोलीले पहिलो पटक नेपाल भ्रमण गर्दैछ । 

अष्ट्रेलियाली संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख डीक मिल्टनको नेतृत्वमा एक संसदीय प्रतिनिधि मण्डलले आज १६ असोजदेखि २० सम्म नेपालको भ्रमण गर्दैछ । भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुँदै जाने विश्वास गरिएको छ । 

आज नेपालस्थित अस्ट्रेलियन राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएको हो । दूतावासका कार्यक्रम तथा अनुसन्धान अधिकृत कृष्णबहादुर कार्कीले भ्रमण टोलीमा प्रतिनिधि सभाका सांसदहरु लिब्वी कोकर, जोआन रियान र अष्ट्रेलियाली संसदको माथिल्लो सदन सिनेटका सदस्य सिनेटरहरु डीन स्मिथ र राल्फ वाबेट सहभागी रहेको जानकारी दिए । 

भ्रमणले अष्ट्रेलिया र नेपालबीचको सम्बन्धलाई थप सबल बनाउने र संसदीय सम्पर्कहरुलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । भ्रमणका अवसरमा दुई देशका प्रतिनिधिले संसदीय प्रजातान्त्रिक अभ्यासहरु, संघीय व्यवस्थाको सञ्चालन र तीनै तहका सरकारमा सुशासन प्रवर्धन गर्ने विषयमा अनुभव आदान–प्रदान गर्नेछन् । शिक्षा, विकास सहयोग, वाणिज्य र लगानी जस्ता क्षेत्रहरुमा अष्ट्रेलिया र नेपालबीच रहेको जनता र सरकारस्तरीय सम्बन्धहरुलाई यो भ्रमणले अझ मजबुत बनाउने बताइएको छ । 

भ्रमण टोलीले नेपालको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भेटेर अष्ट्रेलिया र नेपालका संसदहरुका बीचमा थप सहकार्य गर्ने विषय छलफल गर्नेछ । 

भ्रमण टोलीले सभामुख घिमिरेले आयोजना गर्ने दिवाभोजमा सहभागी भई भर्खरै स्थापित नेपाल–अष्ट्रेलिया संसदीय मित्रता समूहका सदस्य सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको छ । 

भ्रमण टोलीले अष्ट्रेलियाको सहयोगमा सञ्चालित स्थानीय साशन सबलीकरण कार्यक्रम, जलवायु परिवर्तनले ल्याएका चुनौती र यसको प्रतिकार्यका कामहरु, साना किसानहरुलाई प्रदान गरिएको सहयोगहरु र अटिजमलगायतका स्नायु विकाससम्बन्धी चुनौती झेलिरहेका व्यक्तिलाई प्रदान गरिने सेवाका बारेमा जानकारी लिनेछ ।