धरान उपमहानगरपालिका वडा नं. २ मा रमेश राई निर्वाचित भएको करिब डेढ वर्ष भएको छ । उनी वडाध्यक्ष नहुँदादेखि नै विकास निर्माण र बजार व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका थिए । वडा नं. २ मा राई निर्वाचित भएयता हालसम्म के के काम भए ? आगामी योजना के छन् ? लगायतका विषयमा आधारित भएर धरान वडा नं. २ का वडाध्यक्ष रमेश राईसँग ब्लाष्टखबर डटकमले कुराकानी गरेको छ । 

धरानको मुख्य बजार धरान–२ मा पर्छ, त्यसको व्यवस्थापनका लागि के के गर्नुभयो ?

– धरान–२ को मुख्य समस्या बजार व्यवस्थापन र सडक व्यवस्थापन हो । म निर्वाचित भएपछि त्यससम्बन्धी काम गर्दै आएको छु ।

के कस्ता कार्य सम्पादन  भए ?     

– भानुचोक व्यवस्थापन गर्न विशेष पहल गरेको छु । अहिले पहिलेजस्तो बढी अस्त–व्यस्त हुँदैन । भानुचोकको सवारी साधनको अस्तव्यस्ततालाई कम गर्नका लागि भानुचोक–लक्ष्मी चोक–रेडक्रस हुँदै माछाभौडीदेखि भाुनचोकसम्म वान–वे बनाएका छौँ । त्यसलाई निरन्तरता दिने कार्य गरिरहेका छौँ । जेब्रा क्रसिङ निर्माण गरिरहेका छौँ । यात्रु तानातान गर्ने प्रवृत्तिलाई रोक्ने प्रयत्न गरेको छु । आगामी दिनमा यात्रु तानातान गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने व्यवस्था गर्नेछु । भानुचोक बसपार्कमा पालो नभएका बसहरु, टेम्पो, सिटी सफारीलगायत कुनै पनि सवारी साधन पार्किङमा व्यवस्थापन गरेको छु । भानुचोक क्षेत्रका रूखहरुलाई व्यवस्थापन गरिरहेको छु ।

शान्ति सुरक्षाका लागि के कस्ता कार्यहरू भए गरेका छन् ?

– वडाबासीको शान्ति सुरक्षाका लागि सिसीक्यामेरा जडान गरेको छु । केही घटना वा दुर्घटना भएमा कुनै व्यक्ति उम्कन पाउँदैन । सुरक्षाका लागि नगर र प्रशासनसँग पनि समन्वय गर्ने गरेको छु ।

Ramesh Rai wada 2 (1)

सरसफाइका लागि कस्ता क्रियाकलाप गर्नुभएको छ ?

– हामीले साप्ताहिक रुपमा सरसफाइ गर्ने गरेका छौँ । वडा नं. २ भरि डष्टविनको व्यवस्थापन गरेका छौँ । राष्ट्रिय वाणिज्य बैङ्कले पनि रत्नरोडका लागि २० थान डष्टविन उपलब्ध गराएको छ । बसपार्क र अन्य केही ठाउँहरुमा आ.व. २०८०–०८१ को बजेटले डष्टविन राख्नेछौँ । शौचालयलाई व्यवस्थित गरेको छु । उपभोक्ताले पनि पहिलेभन्दा फरक पाउनुहुन्छ होला । सरसफाइलाई निरन्तरता दिइरहेका छौँ ।

धरानका धेरै स्थानमा विद्युतका तार अव्यवस्थित छन्, तपाईले कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

– विद्युतको तारहरु व्यवस्थित गर्ने काम वडा नं. २ बाट सुरू भएको हो । विद्युत् प्राधिकरणलगायत टिभी, इन्टरनेट सेवा प्रदायक कम्पनीसँग पनि समन्वय गरेर तारहरु व्यवस्थापन गरेको छु । बेला–बेलामा हेर्ने र व्यवस्थापन गर्ने काम निरन्तर भइरहेको छ । वडा नं. २ परिसरमा रातको समयमा अत्यधिक उज्यालो हुने सडक बत्तीको व्यवस्थापन गरेको छु ।

भौतिक पूर्वाधारमा के के गर्नुभएको छ ?

– माछाभौडीछेउमा ५ मिटर टायल्स लगाउने काम गरेको छु । विद्युतको ट्रान्समिटर सुरक्षाका लागि रेलिङ लगाएको छु । फुटपाथलगायत शान्तिपथको मुखमा पिसिसी ढलाइ, भानुचोकको बीच भागमा ढलाइ गरेको छु । जसले दुर्घटनाको जोखिम कम भएको छ । भगत रोड निर्माण सम्पन्न गरेको छु । रत्नरोडको सडक निर्माण तथा दुवै साइडमा विद्युतको पोल तथा तार र पानीको पाइपहरु व्यवस्थापन गरेको छु ।

भानुचोकको सौन्दर्यीकरणको लागि के–के गर्नुभएको छ ?

– भानुचोक मात्र नभएर वडाको नै सौन्दर्यीकरणका लागि फोहोर उठाउने ट्रली व्यवस्थापन गरेको छु ।  उपमहानगरका सरसफाइ कर्मचारीहरुले बिहान फोहोर उठाउँदा डष्टविनलाई जोगाउने र फोहोर राम्रोसँग उठाउने कार्यलाई अझ व्यवस्थित गरिएको छ । गमलाको बोटबिरूवाहरुलाई टोलबासीमार्फत् बिहान बेलुका पानी लगाउँदै हुर्काउने कार्य गरिएको छ । शौचालयको वरिपरि गमलामा फूल रोप्ने तथा शौचालयको रङरोगन गर्ने र व्यवस्थित गरी त्यहाँ भएको बाथरूममा नुहाउन मिल्नेसमेत बनाएको छु । यसमा उपमहानगरका मेयर, उपमेयर, प्रशासनसँगको समन्वय र सहकार्य गरिरहेको छु । वडा नं. २ को कार्यालयले आम वडाबासीहरुको सुविधालाई छिटोछरितो सुविधा दिने कार्यलाई दृढतापूर्वक निरन्तरता दिएको छु ।

वडाका ज्येष्ठ नागरिकका लागि के गर्नुभएको छ ?

– वडाको बजेटबाट ज्येष्ठ नागरिकहरुलाई हरेक किसिमको सुविधाका साथै विभिन्न मठमन्दिर, शक्तिपीठहरुको दर्शन–भ्रमण गराउने कार्यहरु गरेको छु ।

बालबालिका तथा युवाहरूका लागि कस्ता कार्यक्रम गर्नुभएको छ ?

– बालबालिकासम्बन्धी कार्यहरु साथै युवाहरुलाई खेलकुदलगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छु ।

Ramesh Rai wada 2 (6)

– अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

– वडा नं. २ मा जति पनि काम भएको छ, त्यस कार्यलाई धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, वडाबासी, टोल विकास समिति (टीएलओ), यातायात व्यवसायीलगायत सबै पक्षसँग समन्वय गर्दै विकास निर्माण, शान्ति सुरक्षा र समग्र वडाबासीको हितको कार्यलाई निरन्तरता दिने कार्य गरिएको छु ।

हालसम्म गरेका काम

– बसपार्कको रुख व्यवस्थापन ।

– माछाभौडीमा ५० मिटर टायल बिछ्याउने कार्य ।

– विद्युत्को ट्रान्समिटर छेक्नका लागि रेलिङको व्यवस्थापन ।

– शान्तिपथको मुखमा ढलाइ ।

– भानुचोकलगायतका स्थानमा भत्किएका सडक निर्माण ।

– फोहोर उठाउने ट्रलीको व्यवस्थापन ।

– दुर्घटना न्यूनीकरणका लागि जेब्राक्रसिङ निर्माण ।

– कुक, ब्युटीपार्लर तालिम सम्पन्न ।

– तीन चक्के सवारीसाधन व्यवस्थापन ।

– सामान ढुवानी बेलुका मात्रै गराउने व्यवस्था मिलाएको ।

– निकेतन गल्लीको रिपिचिङ गर्ने कार्य भएको छ ।

– नाइट बसका यात्रुहरूलाई भानुचोकबाटै सेवा सुविधाको सुरुवात गरियो ।

– भानुपार्क, लोकतान्त्रिक चौतारी, भानुभक्तको मूर्ति भएको स्थानमा समेत झिलिमिली बत्ती जडान गरियो, हरेक दशैंतिहारको उपलक्ष्यमा मेनरोडमा झिलिमिली बत्ती लगाउने कार्य गर्दै आएका छौं र यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिनेछौं ।

– वडा कार्यालय र सम्बन्धित वडाबासी एवम् टोल विकास संस्था (टीएलओ), यातायात व्यवसायीलगायत सबैसँग समन्वय गर्दै निरन्तरता दिने कार्य गरिएको छ ।

Ramesh Rai wada 2 (2)

आगामी योजनाहरू

– बाहिरबाट आउने सवारीसाधनलाई ट्राफिक प्रहरीको समन्वयमा मिलाएर राख्न ठाउँको व्यवस्था मिलाउने र सहयोग गर्ने, साथै ट्याक्सी स्टेण्डको काउण्टरलाई पनि व्यवस्थापन गर्ने,

– भानुचोकमा माग्नेहरूलाई नियन्त्रण गर्ने, समन्वय गरेर आफन्तलाई बुझाउने, भाग्नेलाई घर पठाउने, वा बस्ने व्यवस्था मिलाउने,

– फोहोरमैला सम्बन्धमा वडासमितिले ध्यान दिने, ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्ने,

– रात्रीकालीन बजार व्यवस्थापन गर्ने,

– घण्टाघरको आम्दानीसहित भौतिक पूर्वाधारलाई ध्यानमा राखेर अझ सुन्दर बनाउने,

– गणेश मन्दिरको विषयमा छmलफल गर्दै नया“ समिति गठन गर्ने र आम्दानीको स्रोत बनाउने,

– उपमहानगरपालिकाबाट विकास निर्माणका लागि बजेट व्यवस्थापन गराउने,

– बस स्टेशनअगाडि उपमहानगरपालिकासँग समन्वय गरेर विश्रामालय निर्माण गर्ने,

– जिल्ला ट्राफिक प्रहरी कार्यालय, उपमहानगरपालिका, धरान–९ र २ नम्बर वडा कार्यालयको निर्णयअनुसार निकट भविष्यमा नै ९ नंं. वडाको क्षेत्रमा समेत ‘वन–वे’ लागू गर्ने योजना रहेको छ ।