जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ । गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन पश्चिमी सहयोगीहरूसँग जापान सामेल भएपछि जापानी सांसदका रूपमा मुनेओ सुजुकीको पहिलो रुस भ्रमण भएको हो । 

“सरकारलाई सुजुकीले अघि वा पछि यसपटकको रुस भ्रमणका बारेमा जानकारी  गराएको  थिएन”, सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले भने,“उद्देश्य जे भए पनि रुसको यात्रा रद्द गर्न हामी चेतावनी जारी गर्दैछौँ, सबै जापानी नागरिकहरूलाई रुसको भ्रमण नगर्न आग्रह गर्दछौँ ।”

रुसको विदेश मन्त्रालयले सुजुकीले सोमबार रुसी उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेको बताएको छ । “द्विपक्षीय सम्बन्धको विकासमा जापानी सांसदको उल्लेखनीय योगदानलाई रुसी पक्षले उल्लेख गरेको छ”, मन्त्रालयले मङ्गलबार भनेको छ, “दशकौँदेखि कायम दुई मुलुकबीचको विरासत ‘सामूहिक पश्चिम’ को रुसविरोधी कार्य र अमेरिकालाई खुसी पार्न टोक्योले लागू गरेको प्रतिबन्ध नीतिले उद्देश्यपूर्णरूपमा क्षति पुर्याइरहेको छ ।”