नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर नेता भीमज्वाला राई सर्वाधिक मतका साथ निर्वाचित भएका छन् । मजदुर क्लष्टर लोकप्रिय मतका  साथ ज्वाला विजयी भएका हुन् ।

मजदुर क्लष्टरबाट उम्मेदवारी दिएका ज्वालाले ६१४ मत प्राप्त गर्दा निर्वाचित अम्बिर लिङ्देन र किशोर धमला क्रमशः ५२२ र ४४३ मत प्राप्त गरेका थिए । मजदुर क्लष्टरबाट ३ जनाको  कोटामा ५ जनाको उम्मेदवारी परेको थियो ।  

यस्तै मजदुर महिलातर्फ ५६८ मत प्राप्त गर्दै निर्मला परियार र ५३३ मत प्राप्त गर्दै डोमा राई विजयी बने ।  मजदुरबाट विजयी हुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीमा उपसचिवमापछि ज्वालाले सर्वाधिक मत प्राप्त गरेका हुन् । 

तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशील धरानका भीमज्वाला राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित छन् । आमसञ्चार तथा पत्रकारितामा एम ए गरेका उनी बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील भएका थिए । ज्वाला नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य हुन् । 

एमाले कोशी अधिवेशनका लागि छनोट भएका ९९७ प्रतिनिधिहरुमध्ये ९७७ मत खसेको थियो । पदाधिकारी र समावेशी बाहेक अन्य क्लष्टरको अन्तिम परिणाम आउन बाँकी छ ।

यस अघि नै अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले विजयी भएका छन् भने उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भइसकेका छन् ।