विराटनगर । औषधिको अनुचित प्रयोग गरी फार्मेसीबाट लागूऔषध बनाएर बिक्री वितरण गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका नेपाल औषधि व्यवसायी सङ्घ (एनसीडिएस) उदयपुरका महासचिव वीरेन्द्रकुमार झालाई धरौटी रकम लिई छोडिएको छ ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले पछि मुद्दा चलाउने भन्दै झालाई ५० हजार रुपैयाँ धरौटी रकम तोकेर छोडेको पाइएको छ । गत भदौ २ मा इलाका प्रहरी कार्यालय बेल्टारले उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित गोपीकृष्ण मेडिकल हल औषधिको होलसेल पसलमा छापा हानेर ठूलो परिमाणमा औषधि बरामद गरेको थियो । झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधि बिक्री वितरण गर्ने गरेको पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले छापा हानेर ट्रामाडोल र डाइसाइक्लोमाइन नामको दुई कार्टुन औषधि बरामद गरेको थियो । प्रहरीले झालाई पक्राउ गरेपछि उनी बिरामी भएका थिए ।

ठीक भएपछि बिहीबार पक्राउ गरी थप कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझायो । यसअघि पनि २०७८ जेठ २० गते झालाई औषधि व्यवस्था विभागले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्यसनीलाई बिक्री वितरण गरेको पाएपछि पक्राउ गरेको थियो । झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको फेला परेको थियो । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिन्छ । प्रिगाभालिन नशा च्यापिएका बिरामीलाई चिकित्सकले प्रेस्क्रिप्सन गर्ने गरेको छ । तर, कमाउ धन्दामा लागेका सङ्घका महासचिव  झाले महँगो मूल्यमा बिक्री गरेका हुन् ।

यसरी पटक–पटक पक्राउ पर्दै आएका झालाई औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ अनुसार वारदात भेटिएको जिल्ला अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अधिवक्ताहरू बताउँछन् ।

अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलसँग राय लिएर अदालतमा अभियोजन दर्ता हुने गरेको छ । औषधि ऐन २०३५ को दण्ड सजायका (३) उपदफा (१) र (२) मा औषधिको अनुचित प्रयोग गरेको पाइएमा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने व्यवस्था गरेको छ तर, विभागले झाको हकमा ५० हजार रुपैयाँ धरौटी लिई पछि मुद्दा चलाउने भन्दै सामान्य तारेखमा छाडेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले औषधिको अनुचित प्रयोग गर्ने झालाई पछि मुद्दा चलाउने बताए । ‘अहिले तारेखमा राखे धरौटीमा छोडिएको हो’ उनले भने, ‘हामीलाई व्यावहारिक कठिनाइ पनि छ ।’ पर्याप्त जनशक्ति र साधन स्रोत नभएको कारणले केही समस्या आएको उनले बताए । ‘हामीले कारबाही गर्नबाट जोगाएको भने होइन’–उनले भने । औषधिको अनुचित प्रयोग गर्ने महासचिव झाले युवाहरूलाई महँगो मूल्य लिएर औषधि बिक्री गर्दै आएको स्थानीय बुद्ध सुप्तिहाङ राईले बताए । झाले धरौटीमा छुटेर आएपछि पुरानै धन्दा चलाउने गरेको उनको आरोप छ ।

‘यसअघि पनि औषधिको अनुचित प्रयोग गर्दा पक्राउ परेका थिए । त्यसबेला पनि केही दिन पसल बन्द गरियो । त्यसपछि छुटेर आएपछि फेरि पुरानै धन्दा चलाए । यहाँका युवा कुलतमा लागेपछि हामीले कडा कारबाहीको माग राख्दै स्थानीय प्रशासन र विभागमा पनि गयौँ’ उनले भने, ‘तर, विभागले म्याद थप गरी अनुसन्धान नगरी सामान्य धरौटीमा छोडिदिन्छ ।’