धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक–हित तथा उत्थानको लागि १० वर्ष अगाडि स्थापना भएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठान नयाँ कार्यालयमा स्थानान्तरण गरिएको छ । 

धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा नयाँ कार्यालय स्थानान्तरण गरिएको हो । शुक्रबार आयोजित कार्यक्रममा धरान उप–महानगरपालिकाका नगर प्रमुख तथा धरान संगीत प्रतिष्ठानका संरक्षक  हर्कराज राई (साम्पाङ) ले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । 

प्रतिष्ठानले नयाँ भवन निर्माण नगरेसम्मका लागि उपमहानगरपालिकाले उपलब्ध गराएको प्रतिष्ठान चाँडै उपयुक्त जग्गा खोजेर नयाँ भवन बनाएर सर्ने प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । जग्गा भेटिएमा प्रतिष्ठानको भवनसँगै वरिष्ठ गायक दीप श्रेष्ठ ट्रष्ट समेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।

बजेट निर्माण गर्ने बेलामा केन्द्रदेखि स्थानीय स्तरसम्मको सरकारबाट अपहेलित कला, साहित्य र संगीत क्षेत्र रहेको बताउँदै नगर प्रमुख साम्पाङले पनि प्रतिष्ठानको आफ्नै स्वामित्वको भवन बनाउनुपर्ने र यसको लागि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । 

प्रतिष्ठानको लागि खुल्ला स्थान रहेको भवनको आवश्यकता रहेको उनले बताए । त्यस्तै प्रतिष्ठानको संस्थापक तथा सल्लाहकार अजय राईले गीत, संगीतमा लाग्न चाहने र यस क्षेत्रमा लागेका श्रष्टाका लागि आफूहरुले प्रतिष्ठान स्थापना गरेकाले आफ्नै भवन निर्माणको लागि जग्गा व्यवस्थापन हुन सकेमा भवन बनाउन आवश्यक आर्थिक सहयोग उठाउन तयार रहेको बताए । 

गायक एपी शेर्पालाई बिदाइ

संगीत प्रतिष्ठानको कार्यालय स्थानान्तरणका अवसरमा क्यानाडा जान लागेका गायक एपी शेर्पालाई बिदाइ गरिएको छ । 

155

गायक शेर्पालाई नगर प्रमुख साम्पाङले प्रतिष्ठानको तर्फबाट मायाको चिनोसहित नेपाली ढाकाटोपी लगाएर बिदाइ गरे । गीतकार मीना सिंगकले सिलाम साक्मा प्रदान गरिन् । त्यस्तै सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । 

पारिवारिक पिआरमा गायक शेर्पा केही वर्षका लागि क्यानाडा जान लागेको बताइएको छ । उनी भविष्यमा नेपाल नै फर्कने बताउँदै प्रतिष्ठानको भवन निर्माण हुने भएमा आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरे । उनले अन्य सहयोग उठाउन पनि भूमिका निर्वाह गर्ने  बताए । सो अवसरमा गायक शेर्पाले ‘गरौ संकल्प’ बोलको आफ्नो राष्ट्रिय गीत समेत सुनाएका थिए । 

हिसाब सार्वजनिक 

गत असारमा विश्व संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमको हिसाब सार्वजनिक गरिएको छ । संगीत दिवसका अवसरमा आयोजित सम्मान तथा सांगीतिक कार्यक्रममा ४ लाख ७५ हजार ८ सय आम्दानी भएको उल्लेख छ । 

यस्तै ५ लाख ३५ हजार ८ सय ३० रुपैयाँ खर्च भएको प्रतिष्ठानले जानकारी दिएको छ ।  

विभिन्न दाता तथा संस्थाबाट केही रकम उठ्न बाँकी रहेको र नयाँ कार्यालय व्यवस्थापनका लागि बिजुली, रङ्ग–रोगन, फर्निचरलगायतमा १ लाख ८ हजार ५५ रुपैयाँ खर्च भएको जनाइएको छ ।  

कार्यक्रममा धरान संगीत प्रतिष्ठानका सल्लाहकार तथा एसपी भीम दाहाल र डा. खालिद हुसेन हक अतिथिका रुपमा रहेका थिए भने धरानका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।