मोरङको सुन्दरहरैँचा नगर अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगङ्गा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका माझीले बिहीबार चिकित्सकमाथि हातपात गरेको आरोप छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विपिन यादवका अनुसार डा. पोखरेलमाथि बिहीबार शुक्रराज माझीले हातपात गरेका थिए । बुबाको उपचार गराउन आए पनि उपचार नगरिदिएको भन्दै डाक्टरमाथि हातपात गरेका थिए । ज्वरो आएपछि उनका बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि अस्पताल पु¥याएका थिए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी (बहिरङ्ग सेवा) बन्द थियो । तारिणीलाई दिउँसो १२ः३० बजेतिर इमर्जेन्सी (आकस्मिक कक्ष)मा नै भर्ना गरेर उपचार सुरु गरिएको थियो । आकस्मिक कक्षमा खटिएका डा. पोखरेलले चेकजाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी छोरा शुक्रराजलाई गराएका थिए । त्यसलगत्तै गालीगलौजमा उत्रिएर शुक्रराजले चिकित्सकलाई दुव्र्यवहार र हातपात गरेको मेसु यादवले बताए । हातपात गर्ने माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । 

उता बागमती प्रदेशको हेटौँडामा बिहीबार दुई चिकित्सकमाथि हातपात गरेको घटनाले यतिबेला देश तातिएको छ । हेटौँडा क्षेत्रका अस्पताल शुक्रबार ठप्प भएका थिए भने विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन् ।