पछिल्लो समय धरान प्रहरीको भूमिकालाई लिएर स्थानीयहरू असन्तुष्ट बन्दै आएका छन् । शान्ति सुरक्षाका निम्ति काम गर्दै आएको प्रहरीले सोचेअनुरूपको सेवा दिन नसकेको भनी आलोचना हुँदै आएको छ । पछिल्ला केही घटनाक्रमले त्यसलाई पुष्टि पनि गरेको देखिन्छ । धरान अन्य स्थानको तुलनामा सुरक्षा संवेदनशीलताका हिसाबले केही पृथक मानिन्छ । यहाँ लागूऔषध मुख्य समस्याको रूपमा रहेको छ । त्यस्तै युवाहरूबीच हुने सामूहिक झगडा पनि यहाँको अर्को समस्या हो । त्यसबाहेक अन्य खालका अपराध त भई नै रहन्छन् । यो यहाँको मात्रै समस्या होइन, साझा समस्या नै हो । प्रहरी शान्तिसुरक्षाका लागि जति चनाखो भयो, त्यति नै नागरिकले अमनचयन महसुस गर्छन् । तर, पछिल्लो पटकका केही घटनाक्रमहरू र यहाँको माहौल केही अराजक हुँदै जाँदा पनि प्रहरीले सोचेअनुरूपको काम गर्न सकेको देखिँदैन । कुनै स्थानमा अपराध हुँदै छ भन्ने जानकारी गराउँदासम्म प्रहरी समयमा पुग्न सकेको देखिँदैन । त्यसको पछिल्लो उदाहरणको रूपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा भएको घटनालाई लिन सकिन्छ । भलै यो घटनामा उपप्रमुख बेघाका भाइ विष्णु बेघाको कमजोरीबाट उत्पन्न भएको थियो । तर, पनि प्रहरी शान्तिसुरक्षा दिने कर्तव्यबाट च्यूत हुनु हुँदैन । नागरिकले प्रहरीबाट एउटा अपेक्षा गरेको हुन्छ । त्यो अपेक्षालाई पूरा गर्ने दायित्व प्रहरीको हो ।

धरान प्रहरीमा प्रमुखको जिम्मेवारीमा आएका नवराज मल्लले धरानको शान्तिसुरक्षामा अन्य प्रमुखजस्तो भूमिका निर्वाह गर्न नसकेको नागरिकहरूमा प्रतीत हुँदै गएको छ । सीमित प्रहरीबाट धरानको १ सय ९२ वर्गकिलोमिटर क्षेत्रफल हेर्नु चानचुने कुरा होइन तर, यसअघि आएका प्रमुखहरूले पनि त्यही भूगोलको प्रतिनिधित्व गरी सुरक्षा प्रदान गर्दै आएका थिए । किन उनको कार्यकालमाथि चाहिँ प्रश्न उठ्दै छ, त्यो सोचनीय विषय हो । समाजमा हुने अपराध न्यूनीकरण गर्ने दायित्व प्रहरीको हो । त्यसको पहिलो कारबाही गर्ने निकाय पनि प्रहरी नै हो । तर, प्रहरीले आफ्नो भूमिका सही ढङ्गले व्यवस्थापन नगरेको आरोप लाग्दै आएको छ । कतिपयले त सामाजिक सञ्जालमा धरानको प्रहरी ‘नगर प्रहरी’ को भूमिकामा देखिएको भन्दै आलोचना गर्दै आएका छन् । यस्तो आलोचना गर्नुपर्ने कारण किन बन्यो ? त्यसतर्फ नेपाल प्रहरीले सोच्नुपर्छ । अझ बढी इलाका प्रहरी कार्यालयका प्रमुखको हैसियतले डिएसपी नवराज मल्लले सोच्नु पर्छ । यस्ता लाञ्छना लाग्नु राम्रो कुरा होइन । नेपाल प्रहरीप्रति नेपाली नागरिकको अगाध प्रेम छ । अगाध माया छ । यो प्रेम र मायालाई यथावत् राख्नका लागि नेपाल प्रहरीले सोही प्रकृतिको काम गर्न आवश्यक छ । कसैको बहकाउमा लागेर काम गर्नेभन्दा पनि सत्यतथ्य के हो, त्यसलाई पर्गेल्ने दायित्व नेपाल प्रहरीको हो । त्यसैले त नेपाल प्रहरीको हरेक कार्यालयको अगाडिपट्टि ‘प्रमाणको अभावमा सयौँ अपराधी छुटून्, तर एउटा निर्दोष नफसोस्’ भन्ने नारा लेखिएको हुन्छ ।

प्रहरीको दायित्व र कर्तव्य भनेको जनतालाई शान्तिसुरक्षा दिने हो । समयमा प्रहरी पुगिदियो भने त्यहाँका नागरिक धेरै आश्वस्त हुन्छन् । भलै अपराधी पक्रन नसकोस् । एउटा अभिभावक पाएको अनुभूति गर्छन्, आम नागरिकले । त्यसकारण अपराधलाई निमिट्यान्न पार्नका लागि प्रहरीको समाजमा भूमिका कति छ भन्ने कुराले निर्धारण गर्दछ । धरानमा पछिल्लो समय कट्टी काण्डहरू पुनः दोहोरिँदै गएका छन् । युवा समूहहरूबीच झै–झगडा हुने क्रम बढ्दो छ । यसलाई अन्त्य गर्नका लागि प्रहरीको भूमिका सबैभन्दा अग्रपङ्क्तिमा आउँछ । नागरिकले सूचना दिँदा पनि समयमा प्रहरी पुग्न सकिरहेको छैन । त्यसका कयौँ उदाहरणहरू छन् । तर, अनावश्यक रूपमा मानिसलाई दुःख दिने मामलामा भने धरान प्रहरी अहिले अगाडि छ । अपराधमा प्राकृतिक न्यायको सिद्धान्तलाई अङ्गीकार गरेर अगाडि बढे कुनै पनि अपराधी छुट्न सक्दैन । प्रहरी र नागरिक एक–अर्काका परिपूरक हुन् । त्यसैले त नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ कार्यक्रम ल्याएको हो । त्यो कार्यक्रमको औचित्य नै प्रहरी र नागरिक समाजका पुल हुन् । यो मर्मअनुरूप धरान प्रहरीले काम गरोस् ।