धरान मेघा हिमालयन कलेजको आयोजनामा आजदेखि सुरु धरान मेघा रेवाहाङ मेमोरियल अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान आदर्श कलेज, बाल संसार धनकुटा र होलिल्याण्ड स्कुलले विजयी यात्रा सुरु गरेका छन्  ।

धरान आदर्शले कार्मेल स्कुललाई ३४–१९ अंकले पराजित गर्दा बाल संसार सेकेन्डरी स्कुल धनकुटाले युनाइटेड स्कुलविरुद्ध ४९–६ स्कोरको जित दर्ता गर्यो । त्यस्तै होलिल्याण्ड स्कुलले धरान मेघा बी टिमलाई ३७–१४ अंकले पराजित गर्यो ।

20230911_164433

उद्घाटन खेलको प्रत्येक क्वाटरमा धरान आर्दश र कार्मेल स्कुलले ६–४, ५–४, ८–३ र १५–८ अंक जोडेका थिए । दोस्रो खेलमा बाल संसार धनकुटा र युनाइटेड गोर्खाले ११–२, १५–०, १२–० र १०–४ र तेस्रो खेलमा होलिल्याण्ड स्कुल र धरान मेघा स्कुलले १०–४, ७–६, १४–२ र ६–२ अंक जोडे ।

उद्धघाटन खेलमा धरान आदर्शका सरिन थापा मगरले व्यक्तिगत १४ अङ्क जोडे । दोस्रो खेलमा बाल संसारका प्रेदित मगरातीले १२ अङ्क जोड्दा  होलिल्याण्ड स्कुललका करुण तामाङले समान अंक जोडे ।

20230911_164410

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले पानसमा दीप प्रज्ज्वलन गरेर प्रतियोगिताको उद्घाटन गरे ।  

प्रतियोगिता उदयमान बास्केटबल खेलाडी रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटबल संघको सहकार्यमा आयोजना भएको हो ।

रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो । उनको सम्झनामा उनको परिवारले दुई लाख रुपैयाँको अक्षय कोषको स्थापना गरी गत सालदेखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता सुरु गरिएको थियो ।

20230911_164522

कार्यक्रमको उद्धघाटन अघि एक मिनट मौनधारण गरी अतिथिहरुले रेवाहाङको तस्विरमा माल्यापर्ण गरी श्रद्धान्जली  दिएका थिए ।

धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद सुशीला श्रेष्ठ, कोशी प्रदेश सांसद विजयकुमार राई,  रमेश बस्नेत लगायतको उपस्थिति थियो । प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन धरान बास्केटबल संघ र प्राविधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको छ ।

20230911_164358

भोलि मंगलबारको खेल हिमशिखर तरहरा र प्रभात स्कुल, आयोजक धरान मेघा र डिपो स्कुल, विष्णु मेमोरियल र धरान उच्च बी टिम, सियोन स्कुल र आदर्श कलेज विर्तामोड, युएन नवोदय र धरान उच्च ए टिम बीच प्रतिस्पर्धा हुनेछ ।