ताप्लेजुङमा बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट १८ लाख बढी रकम संकलन भएको छ । 

यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट १८ लाख ७६ हजार छ सय रुपैयाँ संकलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ । बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट सात लाख ५५ हजार रुपैयाँ संकलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन एक लाख ७० हजार आठ सय, दोस्रो दिन एक लाख ३१ हजार सात सय, तेस्रो दिन एक लाख ७५ हजार छ सय, चौथो दिन एक लाख ७७ हजार सात सय र पाँचाँै दिन एक लाख ५८ हजार चार सय रुपैयाँ संकलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । 

यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा तीन लाख ७४ हजार रुपैयाँ संकलन भएको थियो । खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ ।

खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्याराफिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्याराफिट निर्माणमा मात्रै अनुमानित आठ लाख रुपैयाँ बढी खर्च भएको बताइएको छ ।

यस्तै प्रतियोगिताका लागि विभिन्न संघसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए ।  ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उनको भनाइ छ ।