नेपाली काङ्ग्रेसभित्र धेरै नेताहरू छन् । शीर्षनेतादेखि कनिष्ठसम्म । काङ्ग्रेसभित्र काङ्ग्रेसका केन्द्रीय  पदाधिकारीदेखि मनोनित सदस्यहरू र भातृ सङ्गठनसम्मका सबै काङ्ग्रेसका नेताहरू नै हुन् । अहिले देशमा गठबन्धनको सरकार छ । गठबन्धनको सरकारले गरेका सबै निर्णयहरू सबै ठीक छन् र सबै निर्णय, गठबन्धनको रणनीति तथा अभिव्यक्ति पनि सबै ठीक र सही छन् भन्ने अवस्था पनि नहुन सक्छ । गठबन्धनको सरकारले गरेका सबै निर्णय संविधानसम्मत पनि नहुन सक्छन् । यस्तो अवस्थामा गठबन्धनमा सम्मिलित दलहरू र दलका नेताहरूले सरकारले दिएको अभिव्यक्ति र गरेका निर्णयहरू संविधानसम्मत नभए पनि स्वीकार्दै गरेको समर्थन गरेको कारणबाट देशमा सुशासन हराउँदै गएको छ । यस्तो राजनीतिक घटनाक्रमले कुनै पनि दलमा राजनेता जन्माउँदैन । सत्ता र शक्तिको लोभमा, आशक्तिमा र दलका सभापति र दलका प्रधानमन्त्री रिसाउँछन् भनेर उनीहरूको नजिक रहने प्रवृत्ति अत्यन्तै मौलाएर आएको छ । यहाँसम्म कि गठबन्धन सरकार र त्यस सरकार रहेका मन्त्रीहरू वहिर्गमन हुनुपर्छ कि भन्ने भय र त्रास मन्त्री र सम्बन्धित दलका सभापतिहरूमा छ । यही कारणबाट पनि सत्ता र शक्तिको लोभ र आशक्ति नै प्रमुख देखिएको छ ।

सङ्घ र प्रदेशसम्म अहिले यस्तै भइरहेको छ । केपी ओली प्रधानमन्त्री हुँदा दुई–दुई पटक संसद् विघटन गर्नु र कोशी प्रदेशमा संविधान विपरीत असङ्गत तरिकाले दुई–दुई पटक काङ्ग्रेसबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई अदालतले बदर गरिदिनुसम्मका अवस्थामा सम्बन्धित दल र त्यस दलमा आबद्ध नेताहरू प्रतिरक्षामा उभिनु गलत अभ्यास र संस्कार दलहरूमा हुर्किरहेको देखिन्छ । अहिले आफ्नो दल होस्् या अन्य दल, जुनसुकै दलका नेताको गैरजिम्मेवार अभिव्यक्ति र संविधान विपरीत गरेका निर्णयमा चोर औँला देखाउने र विरोध गर्ने नेताहरू न्यून छन् साथै त्यसमा पनि शीर्षनेताहरू छैनन् वा बराबर छन् । मुलुकमा रहेको यस्तो विषम परिस्थितिमा चोर औँला देखाउने र प्रतिवाद गर्ने नेताको आवश्यकता जनताले महसुस गर्न थालेका छन् । त्यस्तो नेताको मुलुकमा आवश्यकता महसुस हुन थालेको छ । यस्तो भएमा मात्र मुलुकले भविष्यमा राजनेता उत्पादन गर्न सक्छ ।

अहिले कोइराला परिवारको विरासत बोकेको कोइराला परिवारभित्र दिवङ्गत भएका नेताहरूमा यो काम म गर्छु भन्ने दृढ विश्वास भएको नेता डा. शेखर कोइरालामा देखिँदै छ । डा. शेखर कोइराला चौधौँ महाधिवेशन हुँदा जसरी प्रस्तुत भएका थिए । त्योभन्दा अझ परिमार्जित अझ सुसंस्कृत हुँदै नेपाली काङ्ग्रेसभित्र मात्र नभएर समग्र नेपालको राजनीतिमा आफूलाई प्रस्तुत गर्दै आइरहेका छन् । अहिले उनले समसामयिक घटना र सरकारबाट भएका गलत निर्णय अनि गैरजिम्मेवार अभिव्यक्ति विरुद्ध जसरी चोर औँला र प्रतिवाद गर्ने गरेका छन् । उनको त्यो प्रस्तुत हुने शैलीले आफूलाई राजनेताको कोटीमा उभ्याउन थेरापी गरिरहेका छन् ।

अहिले देशमा भ्रष्टाचार, संविधान मिच्ने र जबर्जस्ती गर्ने कार्य सरकारबाट भइरहेको छ । नेपाली काङ्ग्रेसले पनि संविधान विपरीत आफूलाई अगाडि बढाउँदै गएको छ । जस्तोः कोशी प्रदेशको मुख्यमन्त्रीले मतदान प्रक्रियामा अवलम्बन गरेको शैली । यसै सन्दर्भमा नेपाली काङ्ग्रेसको सभापतिको उम्मेदवार बन्दा चालीस प्रतिशत मत ल्याएर आफूलाई शक्तिशाली बनाएका डा. शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्री बन्दै गर्दा शीर्षनेताहरूले बलमिच्याइँ गरे । यसो भन्दै गर्दा तीन दलका शीर्षनेताहरू बालुवाटारमा बसेर संविधान मिच्ने काम गर्दै छन् । उनको यो अभिव्यक्तिलाई काङ्ग्रेसभित्रैबाट पनि केही व्यक्तिले गलत भनेजस्ता विचार एक आपसमा गरेका पनि थिए त्यस्ता व्यक्ति दासता, जी, हजुरीमा आफूलाई काङ्ग्रेसभित्र जीवित राखिरहन खोज्छन् । डा. शेखर आफूलाई फरक रूपमा प्रस्तुत गर्दै भन्छन्, ‘तीन शीर्षनेताका सहमतिमा केही कुरा हट्ला तर, जनता पनि छन् भन्ने बुझौं ।’ उनले हाम्रो संसद्को गरिमालाई कता लैजादैँछौं भन्दै शीर्षनेतालाई प्रश्न गरेका छन् । ‘संसद्मा कुनै माननीय सदस्यले कुनै शङ्कास्पद अनियमिततासम्बन्धी विषय उठाउने, दलका शीर्षनेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोही अनुरूप कार्य गर्ने ।’ सांसद् कोइरालाले भनेका छन्, ‘सांसद्का हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नु पर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र ? हामी हाम्रो संसद्को गरिमालाई कता लैजाँदै छौँ । के हाम्रो संसद््ले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो ? संसद्को सर्वोच्चतामा नै लोकतन्त्र र प्रजातन्त्र जीवित रहने कुरा हो ।’ यसै कुरामा प्रतिबद्धता जाहेर डा. शेखरबाट भएको हो भन्ने बुझ्नु पर्छ । अहिले काङ्ग्रेसभित्र यो उचाइमा पुगेका डा. शेखर निर्भय भएर उनले एक क्विन्टल सुन प्रकरणमा आफ्नो विचार दिँदै टिप्पणी गर्न थालेका छन् । जस्तो कि उनले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री माताहतमा राख्न नहुनेभन्दा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, केपी शर्मा ओलीले नसुनेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री कार्यालय मातहतै राखेको उनले बताउँदै अझ अगाडि भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव नवराज ढुङ्गानालाई राजस्व अनुसन्धानको प्रमुखसमेत बनाए । यसमा सिआईबी संलग्न नरहनु यो मैले सङ्केत मात्र गरेको हो बुझ्नुस् भनेका छन् ।’ धरानमा भएको घटना जातीय द्वन्द्व मच्चाउने प्रधानमन्त्रीकै विचार र अभिव्यक्तिले प्रयास गरिरहेको पनि उनले भनेका थिए ।

अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ । डा. शेखरबाट यस्ता ओजपूर्ण अभिव्यक्तिले उनी काङ्ग्रेसभित्र मात्रै हैन, नेपाली राजनीतिमा भारी बन्दै गएका छन् र त्यो भारले अरूलाई किच्दै गएको छ । उनको यो अरूभन्दा फरक रूपमा प्रस्तुत हुने शैलीले उनको भविष्य उज्यालो देखिँदै छ ।