धरान । नेवार समुदायमा प्रचलित क्वाःती (तातो झोल) अन्य समुदायलाई पनि खुवाइएको छ ।
नेवार समुदायको साझा संस्था नेवाः देय दबू १ नम्बर प्रदेश कमिटीले धरानको सैनिक भवनमा बिहीबार क्वाःती फेस्टिभल आयोजना गर्दै अन्य समुदायलाई पनि क्वाःती खुवाएको हो । प्रदेश कमिटीले पहिलो पटक क्वाःती फेस्टिभल गरेको प्रदेश कमिटी अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
क्वाःती खाने प्रचलनको प्रारम्भ भने कृषि युगबाटै भएको मानिन्छ । दुई महिनासम्म बर्खामा खेतीपाती गर्दा पानी झरीका कारण किसानहरूमा चिसो, खोकीलगायतका रोग लागेर बिरामी पर्ने भएपछि त्यस्ता रोगबाट मुक्ति पाउनका लागि क्वाःती खाने चलन सुरु भएको हो । जसमा नौ प्रकारका गेडागुडीलाई तीन–चार दिनसम्म भिजाई टुसा पलाएपछि क्वाःती बनाइन्छ ।
विभिन्न अनुसन्धानबाट क्वाःती आठ प्रकारको बन्दै आएको भए पनि धरानमा चार प्रकारको क्वाःती खुवाइएको थियो । सबै प्रकारका रोगीलाई खान मिल्ने सादा क्वाःती, मसलेदार क्वाःती, मासु मिक्स क्वाःती र रोटी हाली निर्माण गरिएको क्वाःती खुवाइएको कार्यक्रम संयोजक राजीव हलवाईले बताए । उनले क्वाःतीलाई होटलहरूले खाजाको ‘मेनु’ मा पनि राख्नका लागि आग्रह गरे । यसलाई खाजाको रूपमा विकास गरेर लानुपर्ने उनले बताए । ‘आयातित खाजाहरूले हाम्रा खाजाहरूलाई विस्थापित गरेको छ’ क्वाःतीबारे जानकारी दिँदै उनले भने, ‘यसलाई होटलहरूले मेनुमै राखेर बिक्री वितरण गरे राम्रो हुन्थ्यो ।’
भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले नेवारहरू संस्कृति संरक्षणमा अग्रपङ्क्तिमा रहेको बताए । उनले खानेकुराहरू पनि नेवारले जोगाएको बताए । ‘एउटा उदाहरण क्वाःती पनि हो । संस्कृति कुनै जाति विशेषको हुँदैन । सबै जातजातिहरूको साझा हुन्छ’ उनले सम्बोधनका क्रममा भने, ‘नेवार भनेको कुनै जाति होइन, यो विभिन्न जातजातिहरू मिलेको भाषिक समूह हो । यहाँ फरक गोत्र पनि छन् मजस्ता, उपाध्यायहरू पनि छन् । सबैथरिको समूह नै नेवार समुदाय हो ।’
क्वाःती फेस्टिभलमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले धरान सबै धार्मिक समुदायहरू मिलेर बसेको सहर भएको बताए । उनले राष्ट्रको आफ्नो धर्म नहुने तर, त्यहाँ बसोबास गर्ने मानिसले धर्म अँगाल्ने बताए । उनले नेवार जाति संस्कार र संस्कृतिको धनी जाति रहेको बताए । क्वाःती फेस्टिभलको क्रममा विभिन्न सङ्घ–संस्थाहरूलाई उनीहरूले गरेको योगदानका आधारमा सम्मानित गरिएको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले गरेका थिए ।
































