विषय प्रवेशः   
गतवर्षको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भए यता धरान सर्वाधिक चर्चामा रहेको नगर हो । साम्पाङ विजयी भएपछि नजिकैको खोलाखोल्सीहरूमा पानी सङ्कलनको लागि जनश्रमदान र वृक्षरोपण अभियानले धरानभित्रको भन्दा पनि धरानबाहिर अझ भनौं मुलुकबाहिर बस्नेहरूको उल्लेख्य ध्यान खिच्न सफल भयो । यहाँसम्म कि सामाजिक सञ्जालमै समर्थन र विरोधको मापदण्ड निर्धारण हुनथाल्यो । यतिले मात्र धरान चर्चामा आउने शृङ्खला रोकिएन । कहिले मेयर साम्पाङको फेसबुक, टिकटक र लाइभ स्ट्याटस र भिडियो क्लिपहरूले पनि धेरैको तन, मन र ध्यान खिच्यो । जुन आजसम्म पनि जारी नै छ । मेयरको यस्तै शीघ्र र हल्का प्रतिक्रियाकै कारण चार महिनासम्म कार्यपालिका बैठक पनि बस्न सकेन । योसँगै कहिले धरान–इटहरी सीमा विवाद, कहिले चर्च र मन्दिरको विवादहरूले पनि धरानलाई चर्चामै राखिरहेको छ ।

यसै क्रममा पछिल्लो समय गोरु काटेर खाँदै गरेको भिडियो सार्वजनिक भएपछि स्थिति निकै तरङ्गित भएको छ । यसविरुद्ध विभिन्न हिन्दु सनातन धर्मावलम्बीहरूले गम्भीर आपत्ति जनाइसकेको अवस्था छ । गत भदौ ९ गते पहिचान पक्षधरहरूले धरानमा कोशी प्रदेश नाम खारेजीको लागि बृहत् विरोध प्रदर्शन र अन्तरक्रिया गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । तर, यता गोरुकाण्ड सतहमा आइसकेपछि भने हिन्दुवादीहरूले त्यही दिन धरानमा विशाल ¥याली र विरोध प्रदर्शनको कार्यक्रम गर्ने निर्णय गरे । तब धरानको स्थिति जटिल मोडमा पुग्यो । यही गाम्भीर्यतालाई मध्यनजर गर्दै सबै राजनैतिक दल र नागरिक समाजहरूले शान्ति र सद्भाव ¥यालीहरू आयोजना गरे । देश–विदेश, सरकार र साधारण नागरिकहरू सबैको ध्यान धरानतिर खिचियो । यहाँसम्म कि भदौ ९ गते धरानभरि निषेधाज्ञासम्म जारी गर्नुप¥यो, जुन निकट विगतसम्म कसैले कल्पना पनि गरेको थिएन ।

विगतमा यस्तै विषयहरूले यति धेरै चर्चा र महŒव पाउँदैनथ्यो । तर, आज सामान्य घटनाले पनि ठूलो तरङ्ग पैदा गर्न थालेको छ । अलि बढी इमोसनल, अलि बढी साम्प्रदायिक, अलि बढी धार्मिक अनि अलि बढी क्षेत्रीयतावादी अतिवादी चिन्तन मौलाउन थालेको छ । यस्तो मनोविज्ञानको विकास अंशमा सही र स्वादिलो भए पनि समग्र नेपाली समाजको स्वार्थबाट हेर्दा गलत हुन्छ । यसरी शीघ्र तरङ्गित र इमोसनल प्रतिक्रियासँगै सामाजिक सद्भाव नै खल्बलिने अवस्थासम्म आइपुग्नुमा कुन कुन पक्ष जिम्मेवार छन् भन्ने सन्दर्भमा तल चर्चा गरिएको छ ।

सञ्जालमा आधारित धारणाः
पछिल्लो समय कुनै पनि वस्तु, सत्ता र व्यक्तिप्रति धारणा बनाउन दस्तावेज अध्ययन गर्नु पर्दैन । भेटेर प्रत्यक्ष दोहोरो कुराकानी गरेर सत्य–तथ्य पत्तो लगाउनु पर्दैन । वस्तुगत आधार र प्रमाणहरू पनि जरुरी हुँदैन । विवादित सवालहरूमा दुवै पक्षलाई राखेर छलफलसँगै छानबिन पनि गर्नु पर्दैन । यसको लागि आम सामाजिक सञ्जालमा जे बगिरहेको छ, त्यही नै सत्य, यथार्थ र निर्णायक हुन थालेको छ । वस्तुतः सामाजिक सञ्जालमा बग्ने सबैकुरा सत्य नै हुन्छ भन्ने हुँदैन । यसमा आ–आप्mनो स्वार्थ, चाहना र इच्छाहरू अभिव्यक्त भइरहेको हुन्छ । रिस, राग, ईष्र्या र अन्तरविरोधहरू पोखिएको हुन्छ । धेरैजसो कुराहरू कसैद्वारा निर्देशित, परिचालित र प्रायोजित पनि हुने गर्दछ । तर, अधिकांश सञ्जाल प्रयोगकर्ताहरूलाई यो सच्चाइको न्यूनतम् ज्ञान छैन । सामाजिक सञ्जालमा अभिव्यक्त हुने चोटिलो, घोचिलो, स्वादिलो र पेचिलो उत्तेजना र भावनाहरूमा ठूलो हिस्सा तरङ्गित भइरहेको छ । यस्तो रवैयाले कसैलाई क्षणिकरूपमा फाइदै फाइदा र हर्षोल्लास होला तर, यसले अन्ततः सही गन्तव्यमा पुर्याउँदैन । 

वस्तुतः हाम्रो समाजलाई राजनैतिक–वैचारिक आयामले नेतृत्व गरिरहेको छैन । विचार–सिद्धान्तद्वारा निर्देशित समाज भनेको सचेत, स्पष्ट र अटल हुन्छ । भड्काव, वहकाव र मिडिया स्टण्टबाजी सजिलै बुभ्mने हैसियत हुन्छ । उनीहरूलाई निश्चित राजनैतिक–वैचारिक स्कुलिङ हुन्छ । विधि र प्रक्रिया थाहा हुन्छ । यसमा कुनै पनि वस्तु वा व्यक्तिलाई द्वन्द्वात्मक नजरबाट हेरिन्छ । आधारभूत आलोचनात्मक चेत राख्ने गरिन्छ । निरपेक्ष निषेध वा विरोध गरिँदैन । शीघ्र भावनामा होइन, सोचेर सुझबुझसहित समर्थन, विरोध, क्रिया र प्रतिक्रियाहरू अभिव्यक्त गरिन्छ । तर, राजनैतिक–वैचारिकीले नेतृत्व नगरेको समाज तथ्य घटनामा भन्दा पनि सामाजिक सञ्जालजन्य हल्ला र प्रचारबाजीको पछिपछि दौडिरहेको हुन्छ । रूपवादी माहौल, आडम्वर र ढोङ हाबी हुन्छ । यस्तो वस्तुगत धरातलमा समाजको ठूलो हिस्सा बहकिने, बरालिने, भड्किने अनि भावनामा तरङ्गित र उत्तेजित हुने गर्दछ । उनीहरूको चेतअनुरूप उत्तेजित विषयवस्तुहरू पस्किने गरिन्छ । तब स्थिति झनै विकराल हुँदै जान्छ ।

वैदेशिक स्वार्थः
नेपाल पछौटे अर्थराजनीतिक उत्पादन सम्बन्ध भएको मुलुक हो । तर,  भूमण्डलीकरणसँगै विकास भएको विज्ञान र प्रविधिको कारण आम उपभोगवादी सोच भने विकसित मुलुकहरूको नागरिकको भन्दा अझ बढी देखिन्छ । यस्तो मुलुकमा दलाल पुँजी उत्पादन हाबी हुन्छ । दलाल पुँजी हाबी भएको समाजमा वैदेशिक हस्तक्षेप र षड्यन्त्र अनौठो हुँदैन । त्यसैले नेपालको हरेक मुद्दाहरूमा धेरथोर प्रत्यक्ष र परोक्ष हस्तक्षेप गरिरहेकै हुन्छ । हस्तक्षेपको नवऔपनिवेशिक शृङ्खलामा उनीहरू असाध्यै छद्म भेषमा आउने गर्दछ । त्यसकारण कतिपय हस्तक्षेप धेरैले अनुभूति नै गर्दैन । हाम्रै आन्तरिक झगडा र द्वन्द्व भनेर उनीहरूलाई झन् अनुकूल बनाइदिने गर्दछ ।

तर, वास्तविकता धेरै भिन्न छ । हाल भारतमा भाजपाको सरकार छ । यो हिन्दुवादी सरकार हो । भारतीय हैकम र दादागिरी तपाईं हामी भोग्ने धेरै छौं । अहिले नै ऊ ज्ञानी भइसक्यो भन्ने बुझाइ गलत हो । यस्तो हेपाहा प्रवृत्ति बोकेको ठूलो छिमेकी मुलुकले नेपालजस्तो सानो र कमजोर स्रोतसाधन भएको मुलुकमा यस्तो बेला कुनकुन कोणबाट पकड जमाउन सकिन्छ भनेर सोच्दैन भन्न सकिन्न । उसले नेपाललाई हिन्दु राज्य बनाउन सबैखाले चलखेलहरू गरिरहेको बुभ्mन कठिन छैन । आज धेरैले यसको प्रभाव वा दुष्प्रभावको  अनुभूति नै गर्न थालेका छन् । यो क्रम अझ बढ्दै जाने सम्भावना देखिन्छ । उता पश्चिमा शक्ति र भाजपाबीच त्यति राम्रो सम्बन्ध त छैन । तर, पश्चिमाहरूलाई पनि नेपालमा अस्थिर धरातल चाहिएको सत्य हो । यस्तो वस्तुगत धरातलमा उनीहरू पनि जातीय तथा साम्प्रदायिक भड्कावजन्य अस्थिरताको रणनैतिक अस्त्रलाई अधिकतम्रूपमा उपयोग गर्ने दाउमा देखिन्छ ।

रक्षात्मक राजनैतिक मुद्दाः
विदेशी शक्तिकेन्द्रहरूलाई हस्तक्षेपको लागि अनुकूल धरातल भनेको आन्तरिक द्वन्द्व नै हो । यसको लागि उनीहरूले राजनैतिक अन्तरविरोधलाई पहिलो अस्त्र बनाउँदै आएको देखिन्छ । उदाहरणको लागि राजावादी र गणतन्त्रवादी अनि समाजवादी र पुँजीवादबीचको द्वन्द्वमा आप्mनो स्वार्थसिद्ध गर्ने । तर, पछिल्लो समय सबै राजनैतिक पार्टीहरूले संसदीय चुनावी कार्यदिशा अङ्गीकार गरेपछि भने राजनैतिक झगडाको चखिलो मसला कमजोर भएको छ । अर्थात् सामान्य अन्तरद्वन्द्व भए पनि राजनैतिक(वैचारिक आधारले वारपारको लडाइँ लडाउने अवस्था छैन । यस्तो बेला द्वन्द्वको अरू विकल्पहरू खोज्ने गरिन्छ । यही मेसोमा उनीहरूले अरू जातीय, धार्मिक तथा साम्प्रादायिक बहानाहरू खोज्न थालेको अनुमान गर्न सकिन्छ ।

दलीय आग्रह–पूर्वाग्रहः
यसरी समाज बहकिएको बेला दलगत आधारले पनि एउटा दलले पहल लिने र अर्को दललाई खुइल्याउने वा कमजोर पार्ने रणनीति संसदीय राजनीतिको जन्मजात विशेषता नै हो । संसदीय राजनीतिमा समग्र रणनीति नै चुनाव केन्द्रित हुन्छ । यसो भएपछि कसरी अर्को दललाई कमजोर बनाउन सकिन्छ र आप्mनो दलको विजय सुनिश्चित गर्न सकिन्छ भन्नेबाहेक अरू सवाल गौण हुन्छ । यसमा मुद्दाको आधारमा, सही र गलतको आधारमा, अग्रगामी र पश्चगामीको आधारमा अनि बहुसङ्ख्यक र अल्पसङ्ख्यकको हित र स्वार्थको आधारमा समर्थन र विरोधको राजनैतिक लक्ष्मणरेखा कोरिँदैन ।

तब त्यहाँ सही र गलत राजनैतिक विचारबारे बहस छलफल हुँदैन । अर्को दललाई खुइल्याएर आप्mनो पकड बलियो बनाउने भन्ने मात्र हुन्छ । परिणामतः त्यहाँ राजनैतिक पद्दति र संस्कृति गौण हुन्छ । इमानजमान र नैतिकता हुँदैन । सृजनशील, रचनात्मक र सकारात्मक सहयोग, सुझाव र परामर्श हुँदैन । सकारात्मक दृष्टिकोण राख्ने संस्कृति नै नामेटको अवस्थामा पुग्दछ । जुनसुकै अवस्थामा पनि निरपेक्ष नकारात्मकताले घर गरिरहेको हुन्छ । त्यसैले पछिल्लो घटनाहरूलाई मलजल पुग्नुमा दलीय आग्रह(पूर्वाग्रह जिम्मेवार रहेको कुुरालाई पनि नजरअन्दाज गर्न सकिन्न ।

निष्कर्षः
तसर्थ, समाज यसरी तरङ्गित र संवदेनशील हुनुमा मूलत राजनैतिक वैचारिक नेतृत्व रक्षात्मक हुनु हो । सामाजिक सञ्जालमा अभिव्यक्त चोटिलो, घोचिलो, स्वादिलो र पेचिलो स्ट्याटस र भिडियो क्लिपहरू हेरेकै भरमा बनीबनाउ धारणा बनाउँदै उत्तेजित हुनुको दुष्परिणाम हो । यस अतिरिक्त वैदेशिक शक्तिकेन्द्रहरूले विभिन्न नयाँ उर्वर बहाना खोज्नुको उपज हो । योसँगै राजनैतिक कार्यदिशा लगभग उस्तै भएपछि अस्थिरताको लागि अपनाइएको वैकल्पिक रणनीति हो । यता दलीय आग्रह–पूर्वाग्रह, कुण्ठा, प्रतिशोधहरूलाई पनि नजरअन्दाज गर्न सकिन्न । समग्रमा सरकारी कामकारबाही अनि गृहमन्त्रीको आक्रामक पहलकदमीपछिको प्रतिक्रियात्मक कर्र्मकाण्ड भनेर पनि अनुमान गर्न सकिन्छ ।

त्यसैले राजनैतिक–वैचारिक रूपमा सचेत बनौं । सामाजिक सञ्जालमा देखेकै भरमा अन्तिम धारणा नबनाऔं । व्यक्ति वा वस्तुप्रति द्वन्द्ववादी भएर आलोचनात्मक चेतसहित चिरफार गर्ने गरौं । हाम्रो आन्तरिक मामलामा विदेशीहरूलाई धेरै स्थान नदिऔं । राम्रो कामको हकमा सरकार र प्रतिपक्ष भनेर दलीय कित्ताकाटसहितको आग्रह–पूर्वाग्रह नराखौं । यो संसारमा अजम्बरी केही र कोही पनि छैन । बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचानद्वारा निर्देशित सहीष्णुता र सद्भाव बिथोल्ने काम कोही कतैबाट पनि नगरौं । यसैमा हामी सबैको कल्याण अन्तरनिहीत छ ।