भरौल । थारु चलचित्र ‘सजनी तोहर विन’ को शुभ मुहूर्त गरिएको छ ।

सचेत चौधरी र सञ्चारकर्मी प्रदीप बासमैतले फिल्मको निर्माण गर्न लागेका हुन् । फिल्म समाजमा महिला तथा गरिबमाथि हुने गरेको दमन तथा अत्याचारको विषयमा केन्द्रित रहेको छ । रामधुनी निवासी सचेत चौधरीको कथामा फिल्म निर्माण हुन लागेको छ ।

फिल्ममा मुख्य भूमिका पनि चौधरी स्वयम्को रहेको छ । आश थारुको निर्देशनमा बन्ने फिल्ममा मोडल सुजु चौधरीले नायिकाको भूमिकामा डेब्यु गर्दैछिन् ।

फिल्मको डबिङ तथा पोष्ट प्रोडक्सन मेघा डिजिटल रेकर्डिङ स्टुडियोले गर्नेछ । निर्माता तथा कलाकार प्रदीप बासमैतका अनुसार फिल्मको छायाङ्कन नेपालका पर्यटकीय क्षेत्रका साथै थारु भिलेजमा गरिनेछ । फिल्ममा पाण्डव चौधरी, कृष्ण चौधरीलगायत दर्जन कलाकारको अभिनय रहनेछ । फिल्म आगामी दसैंमा प्रदर्शन गरिने बताइएको छ ।