धरान/नेवाः देय दवू प्रदेश कार्यसमितिले धरानमा क्वाःती फेस्टिभल आयोजना गर्ने भएको छ । 

प्रदेश समितिले बिहीबार पत्रकार सम्मेलन गरी आउँदो भदौ १४ गते क्वाःती पुन्हेको अवसर पारेर धरानको सैनिक भवनमा क्वाःती फेस्टिभल गरिने भएको जनाइयो । कार्यक्रम संयोजक राजीव हलवाईले हालसम्मको अनुसन्धानमा आठ प्रकारका क्वाःती प्रचलनमा रहेको भए पनि धरानमा चार प्रकारको क्वाःती खुवाउने तयारी गरिएको बताए । ‘अहिलेसम्मको अनुसन्धानमा आठ प्रकारको क्वाःती चलनचल्तीमा रहेछ’ उनले भने, ‘संस्थाले चार प्रकारको क्वाःती खुवाउने तयारी गरिएको छ । करिब २ हजार सर्वसाधारणलाई क्वाःती खुवाउने तयारी गरिएको समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । 

नेपाल भाषामा क्वाःको अर्थ तातो र तीको अर्थ झोल भन्ने लाग्दछ । विभिन्न नौ प्रकारका गेडागुडीलाई उमारेर पकाई खाने प्रचलन नेवारी समुदायमा पुरानै प्रचलन हो । यो संस्कृतिको रूपमा रहेको संस्कृतिबारे अध्येता तीर्थ मास्केले बताए । ‘नेवारहरूले खाँदै आएकै हो, अन्य जातजातिलाई खुवाउने लक्ष्य हो’ उनले भने । कार्यक्रम संयोजक हलवाईले यसलाई आगामी दिनमा खाजाको रूपमा नै विकास गरेर लाने तयारी भइरहेको बताए । ‘व्यवसायिक होस् भन्ने हाम्रो लक्ष्य हो, खालि आयतित खाजाहरू हाम्रो जिब्रोमा झुण्डिए’ उनले भने, ‘त्यहीँ भएर यसपटक विद्यार्थीहरूले यसलाई बनाउनेछन् ।’

क्वाःतीसँगै सांस्कृतिक कार्यक्रमहरू पनि गरिने भएको छ । जसमा विज्ञान, प्रविधि तथा शिक्षामन्त्री अशोककुमार राई, कोशी प्रदेशकी आर्थिक मामिला तथा कानून मन्त्री निर्मला लिम्बूको पनि उपस्थिति रहने जनाइएको छ । क्वाःतीलाई राष्ट्रिय खानाको परिकारमा समावेश गर्नुपर्ने दवूको माग छ । अध्यक्ष श्रेष्ठले आगामी दिनमा प्रदेशभरि विभिन्न स्थानमा क्वाःती फेस्टिभल गर्ने तयारी रहेको छ ।