धरानमा पहिलो पटक २१ किलोमिटर अन्तर्राष्ट्रिय ट्रेल रेस असोज २७ गते आयोजना हुने भएको छ । धरान रन र नेपाल रन युकेको आयोजनामा हुने रेसमा नेपाल, युके, भारत, हङकङलगायत देशबाट १ सय ५० व्यवसायिक धावकले प्रतिस्पर्धा गर्नेछन् ।

धरानमा पत्रकार सम्मेलन गर्दै  रेसबार जानकारी दिइएको छ । रेसमा १७ वर्षमाथिका महिला र पुरुष प्रतियोगीले सहभागिता जनाउने छन् भने भेट्रानतर्फ ४० वर्षमाथिका धावकले सहभागिता जनाउने छन् । रेसका प्रथम, दोस्रो र तेस्रो उपाधि विजेताले जनही क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भेट्रान तर्फका विजेता तथा उपविजेताले पुरस्कार, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

ट्रेल रेस धरान १३ ओशो पार्कबाट सुरु हुँदै चिन्डे डाँडा, विष्णुपादुका, गोर्खा स्मृति पार्क हुँदै ओशो पार्कमा आएर समापन गरिने छ ।

आजबाट दर्ता फारम खुल्ला गरिएको आयोजकले जनाएको छ । दर्ता शुल्क १ हजार रुपैयाँ लाग्ने छ । बिहान ७ बजेदेखि सुरु हुने रेसमा तय गरिएको रुटमा डाइभर्जन रुट प्रयोग गर्न अपिल गरिएको छ । 

पहिलो पटक धरानमा हुन लागेको अन्तर्राष्ट्रिय ट्रेल रेसले धरानको साहसिक खेल विकाससँगै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।