विराटनगर । विराटनगरस्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल ‘मर्ज’ भएको छ । एक कार्यक्रम आयोजना गरी लर्डबुद्ध र कोशी मोडल स्कुल सोमबार ‘मर्ज’ भएको हो ।
मर्ज पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध निर्देशक राजेश भट्टराई र कोशी मोडल स्कुलको तर्फबाट निर्देशक मनिष सोनीले हस्ताक्षर गरेका छन् ।
विगत २५ वर्षदेखि विद्यालय सञ्चालनमा गौरवशाली इतिहास बोकेका यी दुई विद्यालयहरूलाई ‘मर्ज’ गरी विद्यार्थीहरूलाई समयसापेक्ष एवम् बालकेन्द्रित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने बताएको छ ।
‘मर्ज’ पछिको यस विद्यालयले प्रदेश तथा राष्ट्रियस्तरमा अब्बल शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्दै अगाडि बढ्ने लर्डबुद्ध स्कुलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताए । ‘अझै २१ औं शताब्दी सुहाउँदो अन्तर्राष्ट्रियस्तरको मापदण्डलाई पूरा गर्ने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अबका दिनमा अवलम्बन गर्ने कार्यक्रमको बारेमा अभिभावकवर्गमा सुसूचित गराउनु विद्यालयले आफ्नो कर्तव्य ठानेको जनाएको छ ।
‘विद्यालयले राष्ट्रिय तथा प्रादेशिक रूपमा प्राप्त गरेको सफलता चाहे त्यो शैक्षिक वा अतिरिक्त क्रियाकलापको नतिजा नै किन नहोस्, त्यसको पछाडिको महŒवपूर्ण कडी भनेको हाम्रा आदरणीय अभिभावकवर्गले हामीप्रति अहिलेसम्म गर्नुभएको विश्वास तथा प्रगाढ स्नेह नै हो’–जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आगामी दिनमा परिवर्तित शैक्षिक परिवेशलाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीको सिकाइ र सर्वाङ्गीण विकासको निम्ति परिमार्जन तथा अद्यावधिक गर्दै लैजाने स्कुलले जनाएको छ । यो ‘मर्ज’ प्रक्रिया शैक्षिक उन्नति, प्रगति तथा शिक्षण सिकाइका लागि एउटा सकारात्मक कदम हुने बताएको छ । मर्जपछि के नाम राख्ने त्यो छलफलपछि तय गर्ने कोशी मोडल कलेजका निर्देशक मनिष सोनीले बताए ।
































