अघिल्लो निर्वाचनमा धनकुटाको चौविसेबाट वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समिति धनकुटामा ५ वर्ष कार्यरत पद्मा लिम्बूले २६ वर्षपछि पढाइ सुरु गरेकी छन् । 

पढ्ने अधुरो सपना पूरा गर्न उनी धरान झरेकी छन् । धरान ८ स्थित सहिद स्मृति माविमा कक्षा ८ मा भर्ना भएकी उनी आफ्ना छोराछोरीभन्दा कम उमेरका बालबालिकालाई सहपाठी बनाएर अध्ययन थालेकी छन् । 

आफू स्कुले हुँदा निकै टाढा हिंडेर जानुपर्ने, घरको काम, अनेक परिस्थितिले पढाइ पूरा गर्न नसकेकी पद्मा अहिले धरानमा कोठा भाडा लिएर पढ्ने सपना पूरा गर्न बसेकी छन् । परिवारबाट साथसहयोग पाएकी उनले विद्यालयमा समेत राम्रो शैक्षिक वातावरण पाएको बताउँछिन् । 

यही विद्यालयमै कक्षा १२ सम्म अध्ययन गर्ने मनशाय बनाएकी पद्मालाई पढेर कुनै जागिर खानु छैन । मात्र उनी आफ्नो धोको पूरा गर्दैछिन् । आफूजस्तै पढाइ छाड्न बाध्य भएकाहरुलाई उत्प्रेरणा दिंदैछिन् । सामाजिक, राजनीतिक व्यक्तित्वको छवि बनाएकी उनी अध्ययनको महत्वलाई बुझाउन चाहान्छिन् । यसै सन्दर्भमा ब्लाष्टखबरले उनीसँग गरेको कुराकानी उनकै शब्दमा ।