नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बोले कोशी प्रदेश नामकरणसन्दर्भमा त्रुटि भएको निष्कर्षमा पार्टी पुगेको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकको सन्देशका बारेमा ब्लाष्टखबर डटकमसँग कुराकानी गर्दै केन्द्रीय सदस्य मेन्याङ्बोले पार्टीको केन्द्रीय कमिटीले त्रुटि भएको निष्कर्ष निकालेको बताए । 

उनले आजै बस्ने प्रदेश कमिटीको बैठकले समेत त्यसलाई स्वीकार गरेर लाने बताएका छन् । उनले माओवादी केन्द्रले भन्दै आएको बहुपहिचान (किरात, लिम्बुवान, कोचिला) को सन्दर्भलाई आत्मसात गरेर लाने र त्रुटि भएका विषयमा आत्मालोचना गर्ने बताए । 

पार्टी केन्द्रीय कमिटीले नै नामकरणका सन्दर्भमा त्रुटि भएको दस्तावेजीकरण गरेको केन्द्रीय सदस्य मेन्याङ्बोले बताए । ‘आज बस्ने प्रदेश कमिटीको बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा त्रुटि भएको स्वीकार गर्दै यो एउटा एजेण्डाका रुपमा अघि बढ्छ,’ मेन्याङ्बोले भने, ‘पुनर्नामकरणको एजेण्डा अघि बढाउँछौं, प्रदेश सभाभित्र संसदीय दलले संशोधनको प्रक्रिया अघि बढाउँछ ।’

केन्द्रीय सदस्य मेन्याङ्बोले किरात लिम्बूवान कोचिला, किरात लिम्बुवान शेर्पालुङलगायतका नामका पक्षमा पार्टी रहेको बताए । उनले जहाँ पहिचान भेटिन्छ त्यही नाम उपयुक्त हुने बताए । उनले सबैको सहमतिमा पहिचानको  नामलाई अघि बढाउने बताए ।