विराटनगर । पछिल्ला केही वर्षयता शान्त देखिएको विराटनगरमा फेरि गुण्डाराज ब्युँतिन थालेको छ । केही वर्षयता प्रहरी प्रमुखले विराटनगरमा क्लिन गर्ने क्रममा गुण्डाहरूमाथि धरपकड गरेपछि केही समय विराटनगर शान्त थियो । तर, केही महिनायता विराटनगरमा गुण्डाको आक्रमण बढेको छ ।

तीन जना युवाले विराटनगरको व्यस्त बजारमा एक जना युवामाथि दिनदहाडै तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाईस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहम्मद हलिममाथि तरबार प्रहार गरेका हुन् ।

तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भास्कुलर सर्जरी गरेर जोड्नुपर्ने भएकोले चिकित्सकले नोबेल पठाएका हुन् ।

हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीय अमन कुरेसी, विराटनगर– ११ जनपथ टोलका २६ वर्षीय कुशल पाण्डे, विराटनगर सरौचियाका सदाब अन्सारीको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । ‘सनसारी माईस्थानबाट पूर्वतिर आउँदै गरेको एउटा पल्सर मोटरसाइकलमा तीन जना चढेर आएका थिए । कुलश पाण्डेले मोटरसाइकल चलाएका थिए । तीन जनामध्ये मोटरसाइकलको बीचमा बसेका समीर हुसेनले तरबार बोकेका थिए । उनले मोहम्मद हलिममाथि लर्डबुद्ध कलेजअगाडि चिया पसलनिर प्रहार रे’ घटनाको प्रत्यक्षदर्शीले भने, ‘तरबार प्रहार गरेर उनीहरू फरार भए ।’

मुस्लिम समुदायको मोहरम पर्वको विवादमा मोहम्मद हलिममाथि तरबार प्रहार भएको उनका साथीहरूले बताएका छन् । केही महिनाअगाडि विराटनगरमा मोहरम पर्वमा हलिम र समीरको समूहबीच विवाद भएको थियो । त्यही विवादको रिसइबि साध्न तरबार प्रहार गरेको बताएका छन् । 

तरबार प्रहार गर्नेहरू फरार भएको र उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘घटनामा संलग्नको पहिचान भएकोले खोजी कार्य तीव्र बनाइएको छ’ उनले भने, ‘घटनाका प्रतिवादी पक्राउ परेपछि आक्रमणको कारण खुल्नेछ ।’ अहिले घटनामा संलग्न पक्राउ गर्न लागिपरेको उनले बताए ।

गत कात्तिक २४ गते बिहान अफिस जाने क्रममा विराटनगर–८ अशोक चौकका ५२ वर्षीय अफाक आलममाथि खुकुरी प्रहार भएको थियो । उनी गम्भीर घाइते भएका थिए । दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर–८ का २० वर्षीय मोहम्मद साराजुनलाई पक्राउ गरेको थियो । आलमले कमिसन भन्दै पाँच हजार रुपैयाँ नदिँदा साराजुनसहितका दुई जनाले आक्रमण गरेको प्रहरीले बताएको थियो । खुकुरी प्रहार गरेपछि साराजुन भारततर्फ फरार भएका थिए । घर आएको कुरा प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरेको थियो ।

यस्तै २०७८ असोज १० गते उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक जना व्यापारीमाथि मोटरसाइकलमा आएका युवाले खुकुरी प्रहार गरेका थिए । काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि दिउँसो १२ बजेतिर खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहरा गरी फरार भएका विराटनगर–६ घर भएका २५ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । घाइते भएका लामाको मोरङको कटहरी गाउँपालिका–६ मा रहेको इँटा उद्योगमा लगानी रहेको थियो । इँटा उद्योगसँग सम्बन्धित कामले लामा विराटनगर आउने गरेका थिए । व्यवसायीसँग आपसी विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको थियो । पछि खुकुरी हान्ने कार्की पुर्पक्षको लागि थुनामा गएका थिए ।