सदनमा उठेका विषयभन्दा बाहिर गएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । 

मन्त्री श्रेष्ठको जवाफप्रति चित्त नबुझेपछि नेकपा एमालेले पुनः सदन अवरोध गरेको हो । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिबद्धता नआएको एमालेको भनाइ छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध जारी राखेको छ । 

गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले उठेको विषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए ।

संसद सरकारकै कारणले अवरोध भएको नेता बर्तौलाले बताए । उनले गृहमन्त्रीले एमालेप्रति आरोप लगाउन खोजेको बताए ।

उनले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष बेन्चमा रहेका राजनीतिक पार्टीहरुले उठाएको विषयमा सरकार जवाफदेही नभएको आरोपसमेत लगाए । बैठक बुधबारसम्म स्थगित भएको छ ।