संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार भएको छ । बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरू बिचको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि संसद् अवरुद्ध नगर्ने भएको हो ।
आजै बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीले सन तस्करी विषयमा सदनमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । एमालेका सचेतक महेश बर्तौलाका अनुसार सदनमा अरू नेताहरूले पनि आफ्ना धारणा राख्ने छन् ।
बर्तौलाले सरकारले प्रतिपक्ष दलहरूबिच पनि फाटो ल्याउने नीति बनाए प्रतिपक्षलाई गलाउन खोजेको भन्दै गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने बताएका छन् ।
संसद्को गतिरोध अन्त्य गर्न बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेले बैठकमा सहभागी थिए ।
बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न जुटेका छन्।
बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘तीन बजे सदन खोल्ने सहमति भएको छ। त्यसअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्नुहुन्छ।'
आजको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको छ।