• जेबी खत्री

नेपाली साहित्यको क्षेत्रमा कवि, निबन्धकार, कथाकार आदिका रुपमा मात्र नभई सूर्यप्रसाद लाकोजू सम्पादकको रुपमा समेत चिर–परिचित छन् । लेखक कहाँ जन्म्यो ? उसको जन्मस्थान र परिचयले भन्दा पनि उसले गरेका कामले बढी महत्व राख्दछ ।

भलै ऊ जन्मे, हुर्के, बढे, पढेको र बसोबास गरेको स्थानले पनि केही प्रभाव त अवश्य पार्ला । यद्यपि साहित्य सिर्जना गर्नु ठूलो कुरा होइन, त्यसलाई निरन्तरता दिनु र आफ्नोपनलाई जोगाइराख्नु ठूलो कुरा हो । भौगोलिक, पारिवारिक, आर्थिक आदि जस्ता विविध बाधा, व्यवधानका बावजुद पनि नेपाली साहित्यलाई यतिका लामो समयसम्म आफ्नो जीवनको अमूल्य समय समर्पित गरिरहनु निश्चय पनि चानचुने कुरा होइन ।

अक्षरको खेती गर्ने मान्छेले आफ्नो गाँस काट्नै पर्छ र काटिरहेकै हुन्छ । भनिन्छ, अक्षरको खेती गर्ने मान्छेको आयु अलि बढी नै लामो हुन्छ । यसलाई कतिसम्म लम्ब्याउन सकिन्छ भन्ने कुरा चाहिँ लेखक स्वयम्मा भर पर्ने कुरा हो । जेहोस्, यतिका विधि कृतिको सिर्जना गर्नु सितिमिति कुरा होइन । तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूको सत्याग्रह पहिलो कथा सङ्ग्रह हो ।

नेपाली साहित्यमा सूर्यप्रसाद लाकोजू मूलतः कविको रुपमा परिचित छन् । यसका बावजुद पनि यात्रा संस्मरण, निबन्ध, गीत, हाइकू र बाल साहित्यमा पनि उत्तिकै दख्खल राख्छन् । जीवन र जगत्का विविध आरोहअवरोह अनि राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक, सामाजिक आदिका क्षेत्रमा देखापरेका विभिन्न खाले विकृति, विसङ्गति र विद्रुपात्मकताको उजागर गर्दै मार्ग निर्देश गर्नु उनको कृतिगत विशेषता रहेको पाइन्छ ।

कुनै एउटा घटनालाई गहिरिएर हेर्नु त्यसबाट समाजमा पर्न जाने नकारात्मक असरप्रति इङ्गित गर्दै त्यसको दीर्घकालीन समाधान खोज्न गहिरो चिन्तन मनन् गर्न र विषयवस्तुको उठान, विस्तार र समापन गर्न लाकोजूले आफ्नो छुट्टै कलात्मक पहिचान बनाएका छन् । मानवीय जीवन र जगत्लाई बुझिसकेका लाकोजू पात्रका माध्यमबाट आफैभित्रको जीवनका पाटाहरु समेत खोतल्छन् । मानिस आफैमा सामाजिक प्राणी हो । लेखक स्वयम् पनि त्योभन्दा पर रहन सक्दैन ।

लेखकले उठाएको प्रश्न जो कोहीको मात्र नभएर लेखक आफू स्वयम्को समेत हुन सक्दछ । यसलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु लेखकको निपूर्णता हो । त्यो लाकोजूमा पनि पाइन्छ । हरेक लेखक आफ्नो सिर्जना लिएर अगाडि आइसकेपछि उसले साथमा आफ्नोपन र पहिचान पनि लिएर आएको हुन्छ । नेपाली साहित्यको क्षेत्रमा लाकोजूले त्यो आफ्नो छुट्टै पन र पहिचान स्थापित गराइसकेका छन् ।

आफ्नो छुट्टै पन र पहिचान लिएर आएका कथाकार लाकोजू एकपछि अर्को कृति प्रकाशन गर्दै निरन्तर नेपाली साहित्यलााई अगाडि बढाउन आफ्नो ठाउँबाट प्रयासरत छन् । साधना पनि सोचेजस्तो त्यति सजिलो छैन ।

कुनै पनि काम एक पटकलाई जति गाह्रो भए पनि गर्दै भन्दै जाँदा त्यो सजिलै हुन्छ । त्यसलाई निरन्तरता दिन भने कठिन हुन्छ । लाकोजू त्यो निरन्तरता दिनसक्ने खुबी र त्याग भएका लेखक हुन् । यो पनि सोचेजस्तो सजिलो पटक्कै छैन । त्यो उनले गरेका विभिन्न पत्र–पत्रिकाहरुको सम्पादनबाट पनि थाहा हुन्छ ।

प्रस्तुत सत्याग्रह कथा सङ्ग्रहमा कथाकार सूर्यप्रसाद लाकोजूका जम्माजम्मी ११ ओटा कथाहरु सङ्ग्रहित छन् । सत्याग्रह शब्द आफैमा एउटा शान्तिपूर्ण आन्दोलनलाई बुझाउने राजनीतिक शब्द हो । उक्त कथा सङ्ग्रहको साङ्गोपाङ्गो अध्ययन र समालोचना त यो सानो लेखमा कति सम्भव होला र १ यद्यपि संक्षिप्त रुपमा भए पनि यिनको चर्चा–परिचर्चा गर्ने प्रयास गरिएको छ । कथाक्रम यसप्रकार रहेको छ;

१ सत्याग्रह

२ कमाल

३ अव्यक्त प्रेम

४ घडेरी

५ लाले

६ आमा

७ स्मृतिका

८ उद्धार

९ उपहार

१० बुनू

११ छविलाल काका ।

यसरी सरसर्ती हेर्दा सत्याग्रह कथा सङ्ग्रहको कथाक्रम/कथा खण्डमा ११ ओटा कथा रहेका छन् । पहिलो कथा सत्याग्रहमा कथाकार सूर्यप्रसाद लाकोजूले एउटी छोरीमान्छेको त्याग र हिम्मतलाई शानदार रुपमा प्रस्तुत गरेका छन् । जसले राजनैतिक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्यो ।

जुन कार्यलाई आज जो कसैले पनि कम आँक्न सक्दैन तर, त्यस बेलाको पुरूषवादी सोचका कारण त्यो विद्रोहात्मक स्वर निरीह र निराश बन्न पुगेको छ । जुन आज झन् बढी चरितार्थ भएको छ । एउटी नारी आफ्नो सोच र चेतनामा कतिसम्म अडिग हुन्छन् भन्ने कुरातर्फ इङ्गित गर्दै त्यसकै कारण उनले भोग्नुपरेको दुर्दशाको चित्रण गरिएको छ । यो चेतनामूलक कथा मात्र नभएर एउटा सशक्त सन्देशमूलक सामाजिक र राजनीतिक यथार्थवादी कथा पनि हो । आकारका दृष्टिले पनि यो कथा अन्य कथाभन्दा केही लामो पनि रहेको छ ।

कथा सङ्ग्रहको नामकरण पनि यही कथाको शीर्षकको आधारमा राखिएको छ । यसैगरी दोस्रो कथा कमालमा अभाव र दुःखको भूमरीमा रूमल्लिएको एउटा पारिवारिक गरिबीको चित्रण गरिएको छ । यो एक चरम् गरिबीको चित्रण गरिएको कथा हो । यस कथामा अभिभावकत्वलाई सानैमा गुमाउन पुगेका अनाथ बालबालिकाले जिउनका लागि गरेको सङ्घर्षको कारूणिक चित्र प्रस्तुत गरिएको छ ।

बाबुआमाले छोडेर गएपछि घरपरिवारको जिम्मा घरको जेठोबाठोको काँधमा आइपर्ने र उसले परिवार धान्नका लागि गरेको सङ्घर्षको नालीबेली उद्धृत गरिएको छ । छेउको सियो पनि कुनै बेला बीचमा पर्न सक्ने कुरालाई दर्शाइएको छ । समय सधैँ एकनास हुँदैन ।

हिजोको गरिब पनि भोलि धनी बन्न सक्छ भन्ने कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । त्यसैगरी अव्यक्त प्रेमकथामा किशोर किशोरीले भोग्ने अनेकानेक यौन मनोविज्ञानको चित्रण गरिएको छ । खासमा उनीहरुले मायामा स्वभाविक यौनसुलभ जिज्ञासा, बाल्यकालको सम्झना, व्यक्त हुन नसकेको मनभित्रको हुट्हुटी प्रस्तुत भएको छ । चौथो कथा घडेरीमा सरकारको बलमिच्याइँले पेलिएको एउटा परिवारको कारूणिक चित्र प्रस्तुत गरिएको छ ।

जसको श्रीसम्पत्तिको नाममा एउटा घर उभ्याउने सानो घडेरी मात्र छ । त्यो पनि सरकारको बलमिच्याइँमा परेर मिचिन्छ, काटिन्छ र उसलाई एउटा घर उभ्याउने ठाउँसम्म रहँदैन । सामाजिक थिचोमिचो, अन्याय, अत्याचार र शासकहरुको मनपरि तन्त्रका कारण सर्वसाधारण कसरी अन्याय र अत्याचारमा परिरहेका हुन्छन् भन्ने कुरालाई यस कथामा जग्गाको मुआब्जा नदिएको कुराले प्रष्ट पार्दछ ।

त्यसैगरी पाँचौँ कथा लालेमा रोशी र पुण्यवतीलाई बिम्बात्मक रुपमा प्रस्तुत गर्दै अझै समाजमा रहेको अभाव, गरिबी र सोझोपनको फाइदा उठाउँदै समाजमा रहेका टाठाबाठा भनाउँदाहरुले कसरी श्रमशोषण गर्छन् भन्ने कुरा रामलालबाट लाले भएको पात्रका माध्यमबाट प्रष्ट पारेका छन् । यो कथा समाजमा अझै बाँकी रहेको श्रमशोषणको अवशेष पनि हो ।

त्यसैगरी छैठौँ कथा आमामा आजको व्यस्त र उच्च देखावटी जीवनशैलीका कारण आफूलाई जन्म दिने बाबाआमालाई बुढेसकाल भएपछि खानलाउन र स्वास्थ्य उपचार गर्नका गाह्रोले बाबुआमाप्रतिको आफ्नो कर्तव्य पूरा नगरी तिनलाई लत्याएर हिँड्ने गरेका निर्दयी सन्तानको यथार्थ चित्रण गरिएको छ ।

हातपाउ चल्न छोडेपछि सन्तानले हेर्छन् भन्ने बूढाबूढी भएका बाबाआमाको जुन चाहना हुन्छ, त्यसलाई कुल्चेर कतिपयका छोराछोरीले आफ्ना बाबाआमाको स्याहारसुसार गर्नुको सट्टा वृद्धाश्रममा लगेर छोडिदिने गरेको कारूणिक कथाव्यथा प्रस्तुत गरिएको छ । यसमा पारिवारिक यथार्थ प्रकट भएको छ । भनिन्छ, बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि ।

यही भनाइ यस कथामा चरितार्थ भएको छ । यस्तैगरी सातौँ कथा स्मृतिकामा किशोर अवस्थाका केटाकेटी एक अर्काप्रतिको आकर्षण । एकतर्फी मायाप्रेम । विविध खाले सामाजिक उल्झनका कारण प्रेममा सफल हुन नसकेको कुरा प्रस्तुत गरिएको छ ।

सुरूमा एकाकर्षणबाट दुवै आकर्षण भए पनि विभिन्न खाले सामाजिक र पारिवारिक बाधा, व्यवधानका बावजुद दुई मुटु एक हुन नसकेको यथार्थता प्रकट भएको छ । त्यसैगरी आठौँ कथा उद्धारमा बाध्यता र विवशताले रूमल्लिएर विदेश गएका थुप्रै नेपाली युवायुवतीहरुको कथाव्यथा प्रस्तुत भएको छ ।

यो तिनको प्रतिनिधि कथा पनि हो । यसरी विदेश गएका कतिपय युवायुवतीहरुले त्यहाँका विविध खाले समस्याका कारण आफ्नो जीवनलीला उतै समाप्त गरेको कारूणिक कथा व्यक्त भएको छ । आफ्नो हैसियतभन्दा मोटो रकम खर्च गरेर गएका ती युवायुवतीहरुले भनेजस्तो तलब र सोचेजस्तो काम नपाएका कारण ठूलो मानसिक तनाव झेल्नुपरेको, जसको फलस्वरुप आत्महत्या गर्नसमेत बाध्य हुने गरेको कारूणिक यथार्थको चित्रण गरिएको छ ।

त्यसैगरी नवौँ कथा उपहारमा बालमनोविज्ञानको आधारमा बाबाआमा विनाको संसार तत्कालको परिस्थितिमा नर्क र बाबाआमासहितको संसारलाई स्वर्गको रुपमा चित्रण गरिएको छ । यस कथामा मूलतः बालमनोविज्ञान नै प्रगाढरुपमा प्रस्तुत भएको छ ।

छोराछोरीलाई आफ्ना बाबाआमा विनाको घर घरजस्तो नहुने कुरा प्रकट भएको छ । बाबाआमा विनाको पैसा के पैसा ? छोरोले बालाई अबउप्रान्त विदेश नजानू है भनेर गरेको आग्रहबाट पनि यही कुरा प्रष्ट हुन्छ । यसपछिको बुनू कथामा आजको प्रविधिले ल्याएको विकृतिको चित्रण प्रस्तुत गरिएको छ । खासमा मोबाइलमा फेसबुकले ल्याएको विकृतिको चित्रण छ ।

यसमा प्रविधि प्रयोगकर्ताको एक अर्काबीच फेसबुकमै सम्पर्क हुने फेसबुकमै चिनजान हुने र यसकै माध्यमबाट एक–अर्कामा मायामोह हुँदै जाने अनि आलोकाँचो उमेरमै एक–अर्काले एक–अर्कालाई नबुझिकन दाम्पत्यजस्तो जीवनको एउटा महर्वपूर्ण पक्षलाई अवलम्बन गर्ने गरेको र त्यसको दुष्परिणामको चित्रण गरिएको छ ।

यो आजको प्रविधिको सही उपयोग गर्न नसक्दाको दुष्परिणाम पनि हो । त्यसैगरी यस कथा सङ्ग्रहको अन्तिम कथा छविलाल काकामा पञ्चायतकालमा भए गरेका अन्याय, अत्याचार र थिचोमिचो अनि त्यस व्यवस्थाको विरोधीप्रति गरिने अमानवीय र असामान्य व्यवहार उल्लेख छ ।

व्यवस्थाको विरोधमा लागेकै कारण छविलाल काकाको विवाह रोकिएको कुराले पनि यही कुरा प्रष्ट पार्दछ । जो प्रजातन्त्रका खातिर दुई–दुई पटक लड्यो । प्रजातन्त्र ल्याउनकै लागि आफ्नो जीवन समर्पण ग¥यो । त्यस्तै व्यक्ति र तिनका परिवारले भोग्नुपरेका तात्कालिक बाधा, व्यवधान, जालझेल र अनेक तिकडम यस कथामार्फत् प्रष्ट्याइएको छ । प्रजातन्त्रका निम्ति गोली थाप्नसमेत पछि नपर्ने त्यसबेलाका थुप्रै योद्धाहरुका छविलाल काका प्रतिनिधि पात्र हुन् । जो व्यवस्था परिवर्तनका लागि निःस्वार्थ रुपमा लडे ।

नेपाली साहित्याकासमा एक नक्षत्रको रुपमा उदाइसकेका  कवि, लेखक, निबन्धकार, संस्मरणकार, गीतकार सम्पादक, कथाकार सूर्यप्रसाद लाकोजू एक शसक्त कथाकार पनि हुन् । हरेक मानिसले जीवनको हरेक पक्षमा नवीनता खोज्छ । त्यो पक्ष लाकोजूमा पनि छ ।

उनका यस कथा सङ्ग्रहमा सङ्ग्रहित प्रायःजसो सबै कथाहरुमा मानवीय जीवन र जगत्का आरोह अवरोह विसङ्गति र विकृति नै बढी झल्किएको पाइन्छ । मानिस जन्मेपछि जीवन र जगत् बाहिर रहन नसक्ने भएकै कारण उसले समाजमा देखे, भोगेका तिनै विविध पक्षको चित्र आफ्ना लेख, रचना वा कृतिमा आउनु अस्वभाविक पनि होइन । दुःख र सुख त जीवनका पाटा नै हुन् ।

यिनलाई यथार्थरुपमा जस्ताको तस्तै प्रस्तुत गर्न सक्ने राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक ज्ञान भएका जीवनलाई शून्यवादी दृष्टिकोणको नजिकबाट हेर्ने यथार्थवादी कथाकार हुन् । उनको उक्त सत्याग्रह कथा सङ्ग्रहले नेपाली साहित्यको पछिल्लो कथा लेखन यात्रामा एउटा इँटा थप्ने काम गरेको छ । विभिन्न पत्र–पत्रिकाहरुमा प्रकाशित फुटकर कथाहरुको सङ्ग्रह भए पनि नेपाली कथा लेखनको इतिहासमा उक्त सत्याग्रह कथा सङ्ग्रह सङ्ग्रहणीय पनि छ ।

कृति– सत्याग्रह (कथा सङ्ग्रह)

कथाकार– सूर्यप्रसाद लाकोजू

विधा– कथा

प्रकाशक– ट्रन्सवल्ड पब्लिकेशन ज्याठा, काठमाडौँ

वितरक– अनुज बुक्स इन्टरप्राइजेज ज्याठा,काठमाडौँ

प्रकाशनप्रति– १०००

संस्करण– पहिलो

सर्वाधिकार– कथाकारमा

प्रकाशन मिति– २०७९

आवरण कला– अशोक खनाल

मूल्य– रू. ३५०/-