साहित्यकारहरुको संगत गर्न पाउँदा मलाई अत्यन्त आनन्द अनुभव हुनु, हर्ष लाग्नु स्वभाविक नै छ । धरानमा त्यतिमात्र हुँदैन । मलाई धराने जनताको  आशिर्वाद पनि प्राप्त छ । मलाई मन्त्री बनाउने मेरा विधाताहरुको पनि आशिर्वाद पनि प्राप्त हुन्छ । 

यो अशिर्वाद लिने अर्को अवसर पनि पाएको छु । त्यस खातिर हार्दिक हार्दिक कृतज्ञता जाहेर गर्छु । विद्वानहरुले संस्कृतिको  अपार परिभाषा गर्नुभएको छ । म विद्वान होइन । म एउटा सानो कर्मशील मान्छे हुँ । म त्यसरी परिभाषा गर्न सक्दिनँ । मलाई के लाग्छ भने, हामी प्रकृतिमा छौं । हामी प्रकृतिका एउटा हिस्सा हौं । र, प्रकृतिसँगै दाँजेर संस्कृतिलाई कहिले काहीं मैले पनि दाँजेर हेर्ने गर्छु । प्रकृतिलाई सिंगारे संस्कृति, बिगारे विकृति ।

प्रकृतिलाई सिंगारेर संस्कृति बनाउने सिलसिलामा हामी जैविक हिसाबले एउटै मान्छे हौं । फरकफरक सिंगार पहिरिंदा अलिक फरक जस्तो पनि बन्छौं । 

अहिलेसम्मको शास्त्रको अनुसन्धानलाई साँचो मान्ने हो भने वा त्यसलाई  अर्को अनुसन्धानले खण्डन नगरेसम्म हामी सायद अफ्रिकन होमोसेपिन्सका सन्तति हौं । सबै ।

प्रकृतिमा विचरण गर्दैगर्दै जाँदाखेरि हाम्रा रुपरंगहरु पनि फेरिए होलान् । हाम्रा भाषाहरु अलग भए होलान् । हाम्रा आचरण र मूल्यहरु फरक भए होलान् । त्यसलाई हामीले पहिचान भन्यौं । यो पहिचान चाहिं भावनासँग जोडिंदो रहेछ । भावनाको व्यापकतालाई राजनीतिको सीमारेखाले छेक्दो रहेनछ । 

चाहे अमेरिकामा जानुहोस्, चाहे युरोपमा, चाहे एसियाका विभिन्न मुलुकमा जानुहोस् चाहे अस्ट्रेलियामा । दुनियाँको हर कुनै कुनामा भाषाले साहित्यले संस्कृतिले हामीलाई जोडि हाल्छ । एकतामा आबद्ध गरिहाल्छ । यो नेपाल, यो इन्डिया, यो चाइना, यो युरोप यो दक्षिण अमेरिका, यो अफ्रिका । यो कालो, यो गोरो । यो अग्लो, यो होचो । यी सबै खाल्का विभिन्नतालाई एकतामा ल्याइहाल्छ । समतामा ल्याइहाल्छ । त्यही भावनात्मक व्यापकता साहित्य हो । 

‘काठमाडौंमा अत्यन्त तनावमा बस्नुपर्छ । आघातयुक्त वातावरणमा घातहरु सहँदै बस्दै गर्नुपर्छ । मन्त्रालयको काम भनेको  त्यस्तै हुँदो रहेछ । सरकारी काम भनेको  त्यस्तै हुँदो रहेछ  । तर त्यो तनाबबाट उम्किएर आज यहाँहरुको बीचमा आउँदा आज अलिकति मेरो आयु लम्बिएको जस्तो अनुभूति भइरहेको छ ।’ 

यो साहित्यको आज रसपान गर्ने  मौका दिनुभयो,  यहाँहरुलाई फेरि पनि धन्यवाद । अझै बाँकी छ । अहिले त अलिअलि धारामा पानी झरेको  जस्तो होला । त्यही धाराको  पानी खाएर तिर्खा मेटें मैले । आदरणीय टंक न्यौपाने सरले जानकारी गराउनु भएअनुसार अर्को सत्रबाट साहित्यको खोला, खोलामात्रै होइन नदी, सागर, महासागर नै यो सभा कक्षमा उपस्थित हुने छ । 

यहाँहरुको  यो साहित्यिक महोत्वसवको पूर्ण सफलताको  हार्दिक शुभकामना व्यक्त गर्दछु । 

अघि हाम्रो मेयर साबले पनि बोल्नु भयो । यो साहित्यिक महोत्सवको खास विशेषता रह्यो, मेयर हर्कराज राई । साहित्यिक नाम होला– हर्क साम्पाङ । उहाँ कुनै सार्वजनिक कार्यक्रममा खासै जानुहुन्न । आफ्नै नगरपालिकाको  बाहेक । तर यहाँ आउनु भयो । यो पनि मलाई लाग्छ । यो महोत्सवको एउटा खासियत हो, विशेषता  हो । अरु कतिपय कार्यक्रमहरुमा कार्यव्यस्तताले गर्दा पानी मुख्य भएको हुनाले म आउन सकिनँ है भनेर खबर पठाउने मेयर साब, आज यहाँ आउनु भयो । उहाँले पानी बिर्सनु भयो । उहाँले व्यस्तता बिर्सनु भयो । यसैलाई सर्वप्रमुख काम ठान्नु भयो । आउनु भयो । मीठो भाषण गर्नुभयो । गीत पनि सुनाउनु भयो । उहाँ आफैं कविहृदयी मान्छे पनि हुनुहुँदो रहेछ । 

dharan sahitya utsab_blastkhabar (1)

कहिलेकाहीं पानी जस्तो नरम, कहिलेकाहीं ढुंगोजस्तो कठोर भन्नुहुन्छ, अक्सर युट्युबमा हेर्दा होइन हर्क साम्पाङजी चाहिं साँच्चै कठोरै हुनुहुन्छ कि भन्ने पनि पर्छ । त्यो भ्रमलाई चाहिं पूरै चिरिदिनु भयो । उहाँ पानी जस्तो नरम मात्र होइन, नौनीजस्तो नरम । 

उहाँको अभिव्यक्ति सुनेर म पनि मुग्ध भएँ । भावनामा पूरै अभिभूत हुने अवस्था भयो । ‘कसैको लागि धुलो होला, कसैको लागि हिलो होला, मेरो लागि त यो मेरो देशको माटो हो ।’ त्यस्तै भावना त हामीलाई चाहिएको हो । 

त्यसकारण म अलिकति भावुक पनि भएँ । 

म कवि चाहिं होइन । प्रयास गरें हुन सकिनँ । कविता भन्दा मलाई बढी राजनीतिले तान्यो । अझ घिसार्यो भनौं न । म आफैं लागेको हुनाले मलाई घिसारेको हो । तर म कविता मन पराउँछु । कविहरुलाई सम्मान गर्छु । साहित्यकारहरुलाई सम्मान गर्छु । म अध्येता चाहिं हुँ । सर्जक–स्रष्टा हुन सकिनँ । 

म अध्येता स्रोत कस्तो हुँ भने कवि बम देवानज्यूले  लेख्नु भएका कविता सुनेर म कम्युनिष्ट भएको हुँ । कविता सुनेर विद्रोही भएको हुँ । 

एउटा समय थियो । निर्दलीयता थियो । पञ्चायत थियो । डेमोक्रेसीको उच्चारण त हुन्थ्यो । तर प्रयोग हुँदैनथ्यो । त्यस्ता बेलामा म यहाँ पढ्थें । अहिलेको हिसाबले भन्दा ११– १२ क्लास । 

कवि बम देवानज्यूले हामीलाई कोठामा कविता सुनाउनुहुन्थ्यो । त्यो समयमा  कविता गोष्ठीमा पढ्नु भनेको चाहिं ‘मामाघर’ जाने कुरा हुन्थ्यो । तर पनि लेखिरहनुहुन्थ्यो । हामीलाई सुनाउनु हुन्थ्यो । हामी किशोर अवस्थाका थियौं । १६–१८ का । त्यसले हामीलाई विद्रोही बनाएको थियो । त्यो बेलादेखि नै कविता सुन्ने बानी परेको । 

अनि सानामा गुरुहरुले संस्कृत पढाउनुहुन्थ्यो । म चार क्लासदेखि १० कक्षासम्म एउटा विषय पढेकै मान्छे हुँ । तर संस्कृतज्ञ होइन । संस्कृतज्ञ हुने अवसर पाइएन । अवसर पाएको भए पढिन्थ्यो पनि होला । किनभने मलाई चाख लाग्ने विषय थियो । संस्कृतमा ६० प्रतिशत चाहिं घटाइनजस्तो लाग्छ । 

एउटा श्लोक गुरुले सिकाउनु भएको म स्मरण गर्छु । 

साहित्यसंगीतकलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः ।


त्यही कुरा हर्क साम्पाङले अलिक फरक तरिकाले भन्नु भयो । भावना उही हो । मान्छे र पशुमा भिन्नता केले ल्याउँछ ? साहित्यले, संगीतले, कलाले, संस्कृतिले । त्यसकारण यो आजको साहित्यिक महोत्वस महत्वपूर्ण छ । विद्वत जनहरुको संगतले मान्छेलाई मान्छे बनाउँछ । पशुत्वबाट मूक्त गराउने, मानवताले मण्डित गराउने यो  अवसर पनि हो जस्तो लाग्छ । 

dharan sahitya utsab_blastkhabar (2)

काठमाडौंमा अत्यन्त तनावमा बस्नुपर्छ । आघातयुक्त वातावरणमा घातहरु सहँदै बस्दै गर्नुपर्छ । मन्त्रालयको काम भनेको  त्यस्तै हुँदो रहेछ । सरकारी काम भनेको  त्यस्तै हुँदो रहेछ  । तर त्यो तनाबबाट उम्किएर आज यहाँहरुको बीचमा आउँदा आज अलिकति मेरो आयु लम्बिएको जस्तो अनुभूति भइरहेको छ । 

यसकारण पनि हार्दिक कृतज्ञता जाहेर गर्छु फेरि पनि  । यो महोत्सव सार्थक बनोस् । सफल बनोस् । शुभकामना छ । यति भनेर मेरो मन्तव्यलाई यहीँ बिसाउँछु । बिदा माग्छु । धन्यवाद ।

***

–  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री राईद्वारा धरानमा शनिबारदेखि जारी धरान अन्तर्राष्ट्रिय साहित्य तथा संस्कृति पर्यटन महोत्सवमा प्रमुख अतिथिको आसनबाट व्यक्त मन्तव्य ।