राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको संस्कृति, पहिचानलाई संरक्षण गरेर मात्र सामाजिक विकास र आर्थिक समृद्धि गर्न सकिने बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा उनले विविधताले भरिएको देशमा सबै जाति समुदायका भाषा, धर्म, मौलिक संस्कृति र रीतिरिवाजले विश्वमा नेपाल र नेपालीको गौरव बढाएकाले त्यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय उत्पादनको वृद्धि गरी देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्यमशीलताको खाँचो औँल्याउँदै अध्यक्ष लिङ्देनले बढ्दै गएको आयातलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
उनले अहिले सरकारले एकपछि अर्को भ्रष्टाचार काण्डको फाइल अगाडि बढाएकामा त्यसको सराहना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने राम्रो कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भ्रष्टाचारको डङ्गुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्दैमा यसको न्यूनीकरण नहुने बताउँदै उनले भने, “अहिले भ्रष्टाचार बढेर गएको छ । वैदेशिक हस्तक्षेप बढेर गएको छ । तपाईंहरू ज्युँदो साक्षी हुनुहुन्छ । भ्रष्टाचारको डङ्गुरमाथि बसेर देशका शासक शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन् । भूटानी शरणार्थी प्रकरणबाट पनि हामीले बारम्बार भनेको कुरा पुष्टि हुन्छ ।”
ललिता निवास, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतमा भ्रष्टाचार काण्डमा अहिलेका ठूला दलका नेता संलग्न रहेको बताउँदै उहाँले फाइल खोल्न बाँकी रहेको वाइडबडी प्रकरणमा पनि प्रहरीले अनुसन्धान बढाउनुपर्नेमा जोड दिए ।
































