नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र वैचारिक पुनरजागरण आवश्यक रहेको बताएका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण समारोहमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र वैचारिक पुनरजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचार, विकृति र मनपरितन्त्रको अन्त्य गर्ने पार्टीका रूपमा चिनेको बताए । उनले जनता निराश भएर विकल्प खोजिरहेका छन् भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतिपूर्ण हुने उल्लेख गरे।

उनले कांग्रेसले नयाँ विचार र दृष्टिकोणसहित सुध्रिएको सन्देश जनतामा दिनुपर्ने बताए । नेता केसीले राष्ट्र र लोकतन्त्रलाई गति दिनका निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताए । सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न पत्रकारलाई उनले आग्रह गरे।