धरानमा दोस्रो अन्तर्राराष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव आज (शुक्रबार) देखि सुरु भएको छ ।

महोत्सवका अवसरमा ब्लाष्ट टाइम्सका प्रधान सम्पादक तथा वरिष्ठ कवि एवम् पत्रकार राजकुमार कार्कीलाई विशेष सम्मान अर्पण गरिएको  छ । साथै अन्य सम्मानितहरुमा साहित्यकार र समाजसेवी छन् । सम्मानित हुनेहरुमा असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडा, साहित्यकारहरु भवानी खतिवडा र डा. शुक्रराज दियाली एवम् समाजसेवी रम्भादेवी कर्माचार्य छन् । संस्थागत सम्मानमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान १८ (अध्यक्ष, पूर्णबहादुर गुरुङ), अमर सेवा समाज धरान १३ लाई सम्मान गरिएको छ । 

RajKumar_Karki_Samman_blastkhabar (1)

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले    सम्मानितलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरे । सम्मानितका तर्फबाट मन्तव्य राख्दै प्रधान सम्पादक कार्कीले साहित्य कला संस्कृति प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे । आयोजकको  आग्रहअनुसार कार्कीले ‘कास्मोरा’ शीर्षकको संघर्षशील नारीप्रति समर्पित कविता वाचन गरे । 

आसम साहित्य समाजको सम्मान

dharan sahityik utsab_blastkhabar (1)

भारतको आसाम साहित्यक समाजले कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईसहित चार जनालाई सम्मान गरेको छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, प्रा.डा टंकप्रसाद न्यौपाने र कवि बम देवानलाई असमको जातीय पहिरन ‘जापी र सेलेङ’ लगाई सम्मान गरेको थियो ।

कृति विमोचन 

महोत्सवका अवसरमा दुई स्रष्टाका कृति विमोचन गरिएको  छ । 

dharan intl sahityik karyakram_kriti_bimochan_blastkhabar.com

कवि इन्दु योञ्जनको ‘अन्तिम सेलो’ र दार्जिलिङका कवि राजेन्द्रकुमार प्रधान पासाको कृति ‘अनावरण’ विमोचन गरिएको थियो । दुई कृतिको विमोचन मन्त्री राईले गरेका थिए । 

कार्यक्रममा कवि तथा साहित्यकारहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने, कविता गोष्ठी, अन्तक्र्रिया गरिने प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । 

प्रभातफेरीमा सांस्कृतिक झाँकी

महोत्सवको औपचारिक कार्यक्रम अघि धरानको छाताचोकबाट कार्यक्रम स्थल धरान १३ सम्म विभिन्न जातीय सांस्कृतिक झाँकीसहित कवि, साहित्यकारहरुको टोलीले प्रभातफेरी निकालेको थियो । 

सहभागीहरुको स्वागतमा नेवार एकता समाज, किरात राई यायोक्खा धरान–१३, चैनपुर सांस्कृतिक महिला समूहले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । 

dharan sahityik utsab_blastkhabar (2)

कार्यक्रममा स्वागत मन्तव्य राख्दै धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले भौतिक पूर्वाधारको विकास मात्र नभई बौद्धिक विकास पनि हुनुपर्छ भनेर २०७४ सालमा आफू वडाध्यक्षमा निर्वाचित भएपछि साहित्य कला प्रतिष्ठान गठन गरेको बताए । उनले साहित्यक गतिविधिमा विगतको तुलनामा सहभागिता बढेको भन्दै खुसी व्यक्त गरे । 

कार्यक्रममा नेपालका सातै वटा प्रदेशसहित, सिक्किम, दार्जिलिङ, आसामलगायतबाट कवि तथा साहित्यकार, कलाकर्मीहरुको सहभागिता रहेको प्रतिष्ठानका सचिव विष्णु चौलागाईंले जानकारी दिए ।

धरान–१३ नम्बर वडाको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा दुई दिनसम्म सञ्चालन हुने महोत्सव धरान–१३ लक्ष्मी चोकस्थित धरान बैंकक्युटमा आजदेखि सुरु भएको हो । महोत्सवको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले गरेका थिए ।