झापामा लागूऔषध सम्बन्धि कसुरमा ३ सय ३ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षमा ३१ जना महिला र २७२ जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार २८८ जना नेपाली र १५ जना भारतीय नागरिक लागूऔषध सम्बन्धि कसुरमा पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ किलो ४ सय ९२ ग्राम २ सय ५३ मिलिग्राम ब्राउन सुगर, लुपिजेसिक १ सय १५ एम्पुल, डाइजापाम १ सय ३० एम्पुल, फेनारगन १ सय २५ एम्पुल, नाइट्रोजन १५ ट्याब्लेट, नाइट्राजेपाम ३ सय ४३ ट्याब्लेट, एभिल ६ एम्पुल, नाइट्राभेट २ सय ९८ ट्याब्लेट बरामद गरिएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

त्यस्तै गाँजा २७ किलो २ सय ५० ग्राम बरामद भएको उनले बताए । पक्राउ परेकाहरु विरुद्ध १ सय ८४ वटा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ  ।

प्रत्येक जुन २६ तारिख लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ तर, लागूऔषध प्रयोग र ओसारपसार भने बढ्दो क्रममा छ । 

लागूऔषध कारोबारमा संलग्नहरुले शरीरको गोप्य अङ्गमा लुकाएरसमेत हवाइ जहाजमा ओसारपसार गर्ने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । खुला र नजिकै सीमा नाका भएका कारण ठूलो मात्रामा झापामा लागूऔषध ओसार पसार र प्रयोग हुने गरेको छ ।