भद्रपुर । आइतबार राति झापा बिर्तामोड–९ बद्रीबारी टोलमा एकैरात १३ वटा घरबाट तार चोरी भएको छ ।

तारसहित मोबाइल फोन चोरी भएको बिर्तामोड–९ स्थित बद्रीबारी टोल विकास संस्थाकी अध्यक्ष बिन्दा खरेलले जानकारी दिइन् । कतिपयको घरमा चोरले दोस्रो पटक तार चोरेर लगेको उनले बताइन् ।

अध्यक्ष खरेलका अनुसार बद्रीबारी टोलका तुलसी खतिवडा, टोल अध्यक्ष खरेल, बृहस्पति सेढाईं, नवीन सेढाईं, बुधलाल महतो, सागर आले, बालकृष्ण आले, हरि राजवंशी, कमल राजवंशी, सनमान तामाङ, टिकाराम सिटौला, गोपाल सिटौलाको घरमा चोरी भएको हो ।

त्यस्तै बिर्तामोड–१० स्थित विराटपोखरी टोल विकास संस्थाका रमेश पाठकलगायतको घरको बाहिर वाइरिङ गरिएको तथा पानीको मोटरमा जडान गरिएको तार एकैसाथ चोरी भएको पीडितहरूले जानकारी दिए । एकै रातमा १३ घरबाट तार चोरी भएको यो पहिलो घटना हो । पिलासले तार काटेर लगिएको र केही काटिएको टुक्रा तार हतारमा चोरले छोडेर गएको र साथमा रहेको बल्ब र होल्डरसमेत छोडेर गएको पीडित टीकाराम सिटौलाले बताए ।

घरबाट दुईवटा मोबाइल फोनसमेत सोही चोरहरूले झ्यालबाट तानेर लगेको पीडित बृहस्पति सेढाईंले जानकारी दिए । बालकृष्ण आले, बुधलाल महतो लगायतको घरमा दोस्रो पटक तार चोरी भएको हो । चोरी भएको विषयमा प्रहरीमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । मिडियामार्फत् नै सुनेका कारण उक्त क्षेत्रमा प्रहरी परिचालन गरी बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।