इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि कुल ४५ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नीति तथा कार्यक्रम पेश गर्दै सो बराबरको बजेट विनियोजनको व्यहोरा सार्वजनिक गरेका हुन् । १४ औं गाउँसभाको अधिवेशनको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष आजादले नीति तथा कार्यक्रम पेश गरेका थिए । जसलाई अधिवेशनले सर्वसम्मत पारितसमेत गरेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम उपर दलीय प्रतिनिधिसहितले धारणा राखे पश्चात् आयोजित बन्द सत्रमा छलफलपछि कार्यपालिकाले वार्षिक बजेट पास गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भोक्राहा नरसिंहको समृद्धि केन्द्रित विकास निर्माण र योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको अध्यक्ष आजादले बताएका छन् ।
नीति तथा कार्यक्रममा कम्प्युटरसहितको प्राविधिक शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह, खानेपानीका साथै सिंचाइको प्रबन्ध, किसान प्रोत्साहन तथा कृषि प्रवद्र्धन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रम, स्वरोजगार कार्यक्रमसहित प्राथमिकताका आधारमा पालिका समृद्धि कार्यक्रम समावेश छ ।
गाउँपालिका अध्यक्ष आजादले यस पटकको बजेट नीति तथा कार्यक्रम समग्र पालिकाको विकास केन्द्रित रही तयार पारिएको बताए । उनले बजेट सिलिङको सीमिततालाई ख्याल गरी प्राथमिकताका आधारमा खर्च गर्ने गरी कार्यक्रम तय गरिएको बताए । उनले अनुदान सहयोगमा कटौती भए पनि पालिकाको विकासका लागि व्यक्तिगत र पार्टीगत पहलमा बजेट ल्याउन सफल भएको समेत जानकारी दिए ।
सीमित स्रोत, साधन र कटौतीमा परेको केन्द्रीय तथा प्रदेश अनुदानलाई मध्यनजर गरी मितव्ययी तवरले गाउँपालिकाको विकास र समृद्धिमा बल पुग्ने गरी बजेट तथा कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए । अधिवेशनका क्रममा उत्कृष्ट कर्मचारी, किसान, सञ्चारकर्मीलगायतलाई सम्मानसमेत गरिएको थियो ।
































