धनकुटा । बालविवाहको आरोपमा प्रहरीले दुईजना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एक जना गरी तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–४ देब्रेवासका १९ वर्षीय बेहुला नरेश मगराती, धनकुटा नगरपालिका–६ कचिडेकी १५ वर्षीया बेहुली र धनकुटा नगरपालिका–४ देब्रेवासका बेहुलाका बाबु ४० वर्षीय कृष्ण मगराती रहेका छन् ।

परिवारको सल्लाहमा सोमबार विवाह गराइदिएको सूचनाका आधारमा प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

डिएसपी कुँवरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानूनअनुसार प्रक्रिया अघि बढाइने जानकारी दिए । मङ्गलबारदेखि अदालती प्रक्रिया अघि बढेको र यस घटनामा अभिभावकहरू पनि अनुसन्धानको दायरामा पर्ने उनको भनाइ छ ।

बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाव दिए पनि केटाकेटीले भागेर विवाह गरेको जनाएको छ । बेहुलीका बाबु ४५ वर्षीय आशिक खड्काले गत वैशाख १ गते भागेर अन्तरजातीय विवाह गरेको बताए । उनले सम्झाई बुझाई गर्दा पनि केही नलागेको बताए ।