मोरङको सुन्दरहरैंचा ९ का सचिव डिकबहादुर भण्डारीमाथी आक्रमण गर्ने स्थानीयलाई कडा कारवाही गर्न झापा जिल्ला वडा सचिव हकहित मञ्चले माग गरेको छ ।

अविवाहित प्रमाणपत्र लिन वडा कार्यालय आएका विसनशक्ति थापाले सचिव भण्डारीमाथि हातपात गरेका थिए । उनीमाथि हातपात भएपछि वडा सचिव हक हित मञ्चले दोषिलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको हो । सुरक्षित भएर काम गर्ने वातावरण बनाउन समेत मञ्चको माग छ ।

थापासहित तीनजनाको समूहमा वडा कार्यालय पुगेको समुहले सचिव भण्डारीमाथि हुल हुज्जत गरेको थियो । सचिव भण्डारीले त्यो सिफारिस दिन नमिल्ने भन्ने बुझेपछि त्यो समुहले वडाध्यक्ष प्रकाश श्रेष्ठमाथि जाइलागेको थियो ।

वडाध्यक्ष श्रेष्ठमाथि पनि अभद्र ब्यबहार गरेपछि थापाको समुहलाई प्रहरीले पक्राउ गरेको थियो । वडाध्यक्ष श्रेष्ठकै समन्वयमा उनीहरु रिहा भएको पीडित भण्डारीले जानकारी दिएका छन् । भण्डारीले दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग पनि गरेका छन् ।

मञ्चको झापा जिल्ला समितिले विज्ञप्ति जारी गर्दै सो घटनाका दोषिलाई कारवाही गरी भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न सरोकारवाला निकायसँग माग गरिएको छ । विज्ञप्तिमा मञ्चका झापा अध्यक्ष भोसकुमार थुलुङ र सचिव खगेन्द्र लिङदेनले हस्ताक्षर गरेका छन् ।