मोरङको उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

जेठ २५ गते साढे ३ बजे यात्रुवहाक बसले ठक्कर दिएर एक जना स्कुटल चालकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा परी मृत्यु भएपछि  आक्रोशित भीडले मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बस आगजनी गरिदिएका थिए । 

सोही बसमा आगजनी गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पाँच जनालाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ का १८ वर्षीया  प्रज्वल भन्ने गोकुल भण्डारी, पथरी शनिश्चरे  नगरपालिका वडा नं.४ सम्झना चोक बस्ने वर्ष २८ का  जीवन थापा, पथरी शनिश्चरे नगरपालिका वडा नं.९ गिरिटोल बस्ने वर्ष २० को मानव भन्ने अनमोल राई, पथरी शनिश्चरे  नगरपालिका वडा नं.२ नवज्योति बस्ने वर्ष २० का आयुस रिजाल र पथरी शनिश्चरे नगरपालिका वडा नं.२ देवीगन्ज बस्ने वर्ष २० का गोरे भन्ने मोहनकुमार मगर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनीहरूलाई आपराधिक उपद्र्व कसूरमा मोरङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप भई थप अनुसन्धानको कार्य भइरहेको डिएसपी दाहालले बताए । 

उर्लाबारीको मंगलबारेस्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं. ०१–०१–०१३ प २३० नं. को स्कुटरलाई अगाडिबाट ठक्कर दिंदा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नं–२ बस्ने वर्ष ३३ का पवन सुवेदीको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे मृत्यु भएको थियो ।

प्रहरीले बस चालक झापा कन्काई नगरपालिका वडा नं.–३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुबेदीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्दै आएको छ ।