धरान । नातामा भाउजू पर्नेलाई हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले २० वर्षपछि सुनसरीको इनरुवाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार इनरुवाबाट २० वर्षदेखि फरार रहेका अभियुक्त वराहक्षेत्र नगरपालिका–३ का ५९ वर्षीय लाखमान भनिने लाखबहादुर लिम्बूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । अभियुक्तले भाउजू पर्ने हर्षमाया लिम्बूलाई घरायसी विवादका क्रममा २०६० साल साउन १९ गते हत्या गरेका थिए । विवादका क्रममा उनले दाउराको चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

हर्षमायाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । त्यस घटनायता लिम्बू फरार रहेका थिए । उनलाई १९ वर्ष १० महिनापछि बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई झुम्का कारागार चलान गरिएको डिएसपी राईले जानकारी दिए ।