धनकुटा । धनकुटाको हिलेदेखि धरानतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी दुर्घटना भएको छ । धनकुटा नगरपालिका–९ खुरिलामा शुक्रबार बिहान दुर्घटना भएको टाटा सुमो गाडीमा सवार एक महिलासहित तीन जना घाइते भएका छन् । 

घाइतेमध्ये एकजनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । दुर्घटनाग्रस्त भएको बीआर १० एच ४९१० नम्बरको भारतीय सुमोबाट एक सय केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाडीमा पाँच जना सवार रहे पनि चालसहित दुई जना फरार छन् भने तीन जना घाइते भएका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये धनकुटा नगरपालिका–४ भोटेचौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङ गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । बीपी प्रतिष्ठान धरानमा उनको उपचार भइरहेको छ । 

प्रहरीका अनुसार इटहरी जानका लागि उनले धनकुटा–४ स्कुलडाँडाबाट लिफ्ट मागेर गाडी चढेको बुबा प्रकाश तामाङले जानकारी दिएका छन् । उनले आफ्नी छोरी इटहरी उपमहानगरपालिका–७ स्थित नमुना कलेजमा व्यवस्थापन विषय लिएर स्नातक तहमा अध्ययनरत रहेको बुबाको भनाइ छ ।

यता गाडीमा सवार मोरङ जहदा गाउँपालिका–३ का २३ वर्षीय अजय महला र जहदा–४ का २४ वर्षीय सुरेश मुखिया घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको धनकुटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेका  सुरेश मुखिया र अजय महलाबाट गाडीको आवश्यक कागजात प्रहरीले बरामद गरेको छ ।

त्यस्तै भारतको कस्माहा गाउँपञ्चायत–३ जोगमुनी ठेगाना भएका श्रवणकुमार यादवको नाममा जारी भएको ड्राइभिङ लाइसेन्स पनि प्रहरीले फेला पारेको डिएसपी कुँवरले बताए । दुर्घटनाग्रस्त गाडी सुरक्षित स्थानमा साइड लगाउने क्रममा गाँजा बरामद गर्न सफल भएको हो ।

दुर्घटनाको कारण कोसी राजमार्ग केही क्षण अवरुद्ध भएको थियो । करिब ४ लाख मूल्य बराबरको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।