भद्रपुर । झापाको मेचीनगर–१५ लाल झोडास्थित भगवती लेमिनेट्स (प्लाई उद्योग) भित्र एक कामदार मृत अवस्थामा फेला परेका का छन् ।

प्लाई उद्योगको स्टोर कोठामा सोही उद्योगमा कार्यरत मोरङ जिल्ला कानेपोखरी गाउँपालिका–१ भाउन्ने बस्ने ४६ वर्षीय नगेन्द्र दाहाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कामदार दाहाल मृत अवस्थामा बुधबार बेलुका ५ बजे फेला परेका थिए । उद्योगमा कामदार मृत अवस्थामा फेला परेसँगै प्रहरी चौकी ज्यामिरगढी र इलाका प्रहरी कार्यालय धुलाबारीको टोली तत्काल घटनास्थल पुगेका थिए । त्यसपछि शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।

तर, प्रादेशिक अस्पतालका चिकित्सकले शङ्कास्पद मृत्यु भएको शवलाई पोस्टमार्टम गर्न नमानेपछि शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा पोस्टमार्टम पश्चात् परिवारजनले शव बुझी लगिसकेको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए । कामदारको मृत्युको कारण भने खुलेको छैन ।

अत्यधिक मदिरा सेवन र दिर्घरोगी भएका कारण उनको मृत्यु भएको हुन सक्ने उनको अनुमान छ । सीसी क्यामरामा पनि हल्लीदै आएको देखिएको उनले बताए । उद्योगभित्रै कामदारको मृत्यु भएको घटना बारे उद्योगका कर्मचारीहरूले ढिला गरी थाहा पाएको जनाइएको छ ।