वराहक्षेत्र । विगत तीन महिनादेखि वैदेशिक रोजगारीको लागि साउदी अरबमा गएर बिचल्ली भएका कामदारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुल्ला पत्र लेख्दै आफूहरूको उद्धार गरिदिन गुहार गरेका छन् ।

साउदीको मक्का सहरको अल अवाम कन्ट्याक्टिङ इस्ट कम्पनीमा काम गर्न गएका उनीहरूलाई कम्पनीले काम, सेवा सुविधा र तलब नदिएर  बिचल्ली बनाएको भन्दै आफूहरूलाई नेपाल फिर्ता गराइदिन भन्दै पत्र लेखेका हुन् । जेठ १५ गते ब्लाष्ट संवाददातालाई पत्र पठाएर जसरी भए पनि आफूहरूको उद्धार गरिदिन भन्दै उनीहरूले १६ जनाको नाम र हस्ताक्षर भएको पत्र पठाएका छन् । पत्रमा बाग्लुङ जिल्लाका सद्दाम हुसैन, रौतहटका मोहम्मद बिलाल शेख, समीम मियाँ, शेख अन्सारुल, रुस्तम देवान र फैसल इमाम, धनुषाका मोहम्मद रमतुल्ला नदाफ, सदावत राईन र मेहताब आलम, बाराका साहु मनसुर, आजाद अन्सारी, तैयव अन्सारी र ईमाम हुसैन, सप्तरीका मोहम्मद इब्राहिम शाह र पर्साका शेख अफजल र मोहम्मद हासिम मियाँ रहेका छन् ।

पत्रमा काठमाडौँको सिनामङ्गलस्थित केपी इन्टरनेशनल ओभरसिजले सम्झौतापत्रमा उल्लेख गरिएअनुसार काम नपाएको सुविधा र तलब नदिएर अल अवामले अलपत्र बनाएको बताएका छन् । विदेशमा दुःख पाएपछि आफन्तले नेपालस्थित वैदेशिक रोजगारी विभागमा केपी ओभरसिजविरुद्ध उजुरी गर्दा पनि कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् । गत वैशाख ३१ गते उनीहरूका आफन्तले केपी ओभरसिजविरुद्ध उजुरी गरेका थिए । समस्या समाधानको लागि नेपाली राजदुतावासमा गुहार गर्दा तीन दिनपछि समाधान गरिदिने भन्दै फर्काइदिएको तर खाना, पानीलगायतको सुविधा उपलब्ध गराइदिने भनेको एक हप्ता बढी समय बितिसक्दासमेत केही नगरेको गुनासो गरेका छन् ।

यता केपी इन्टरनेशनल ओभरसिजका सञ्चालक निर्मल राय अमातले पीडितहरूलाई उल्टै तिमीहरू नेपाली एम्बेसी गएपछि कम्पनीको म्यानेजर जहाँगिरले आफ्नो फोनसमेत उठाउन छोडेकोले कानूनको सहारा लिन जानू भन्दै पन्छिएको पीडित तैयब अन्सारीले बताए ।

म्यान पावर कम्पनी केपी इन्टरनेशनल ओभरसिजले साउदी अरबको एमिग्रेसन भिसा इकामाको अवधि समाप्त नभएसम्म केही गर्न नसकिने अमातले बताए । इकामाको म्याद सकिन अझै कति दिन लाग्छ त भन्ने जिज्ञासामा केपी ओभरसिजका सञ्चालक रायले अझै करिब २४ दिन लाग्ने बताए । विदेशको कानूनलाई आफूले केही गर्न नसक्ने भन्दै उल्टै आफूलाई केही म्यानपावर र ५–६ जनाको समूहले फसाउन खोजेको आरोप लगाए ।

b1

b2

b3