विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम संख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ । 

चालु आ.व.मा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको र धेरै अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताएका छन् । 

कतिपय पुलहरु अन्तिम अवस्थामा रहेकाले तीनमा थप बजेट आएमा चालु आ.व.मै सम्पन्न हुने उनले जानकारी दिएका छन् । उनले भने, “काम भइसकेको भए पनि भुक्तानी हुन बाँकी रहेकाले प्रगति राम्रो हुने देखिएको छ ।”

पुलका कतिपय भागको काम वर्षाको समयमा गर्न नमिल्ने हुँदा तत्काल रकम प्राप्त हुँदा मात्रै निर्माण सम्पन्न हुनसक्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

‘स्लाब कास्टिङ’ वर्षा पहिले गर्नुपर्ने र वर्षामा गर्दा बगाउने सम्भावना रहने उनले बताएका छन् । उनले भने, “फाउन्डेसनको काम वर्षा पहिले सुरु गर्न सकिँदैन ।” 

सरकारले चालु आ.व.मा पुल निर्माणका लागि रु १० अर्ब ६३ करोड र पुलसम्बन्धी अध्ययनका लागि रु ६० करोड विनियोजन गरेको थियो । संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय पुल निर्माणको जिम्मेवारी स्थानीय तहको हुने भए पनि अहिलेसम्म संघीय सरकारले पुल निर्माण गर्दै आएको छ ।

—रासस