धनकुटा । गोरु काटेको अभियोगमा जिल्ला कारागार धनकुटामा कैद भुक्तान गरिरहेका धनकुटा–६ का ४० वर्षीय सिमन विशङ्खे सोमबार छुटेका छन् ।

नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा कैद भुक्तान तोकिएको अवधिमा ८ महिना १ दिन छुट भएपछि विशङ्खे छुटेका हुन् । जिल्ला अदालत धनकुटाले गोरु काटेको अभियोगमा २०७७ साल चैत १० गते १ वर्ष ६ महिना बराबरको जेल सजाय फैसला गरेको थियो । उनी ०७९ साउन १५ गते आफ्नै घरबाट पक्राउ परेका थिए ।

धनकुटास्थित जिल्ला कारागारबाट विशङ्खेलाई उनका पत्नी देवीले बुझेर लगेकी छन् । उनीसँगै पक्राउ परेका धनकुटा–६ का ३९ वर्षीय विकास विशङ्खे भने जिल्ला कारागार धनकुटाबाट स्वेच्छाले सरुवा मागेपछि ०७९ मङ्सिरको अन्तिम साता झुम्का कारागार सुनसरीमा सरुवा गरिएको जेलर शिवकुमार श्रेष्ठले जानकारी दिए ।

गणतन्त्र दिवसमा कोशी प्रदेशका विभिन्न जिल्ला कारगारमा कैद भुक्तान गरिरहेका १ सय ७ जनालाई कैद मिनाहा गरी रिहा गरेको उनले बताए । धनकुटास्थित कारागारमा २ महिलासहित ९४ जना कैदीबन्दी छन् ।