धरान  । साहित्यकार तथा फोटोग्राफर प्रकाश आङ्देम्बेले खिचेका फोटाहरूको नर्वेमा प्रदर्शन भइरहेको छ ।

गुल्सेट सामुदायिक केन्द्र सियन नर्वेले ‘मन्थ अफ द आर्टिस्टका’ रूपमा आङ्देम्बेलाई मे महिनाभरिका लागि चुनेको हो । यसअन्तर्गत उनको एकल फोटोग्राफी प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, सूक्ष्म र वाइल्ड फोटोहरू समावेश गरेका छन् । जहाँ नेपालको परिचय दिने तस्बिरहरू बढी छन् । आङ्देम्बे फोटोग्राफीमा पनि अढाई दशकभन्दा लामो समयदेखि निरन्तर साधनारत छन् । नर्वेको दक्षिणी सहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, संस्कृति, सिर्जनशील, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो ।

‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक सहर हुनुका साथै विश्वप्रसिद्ध कवि/नाटककार हेनरिक इव्सेनको जन्मभूमि पनि हो । यस्तो स्थानमा महिनाभर एउटा कलाकर्मीको रूपमा स्थान पाउने आङ्देम्बे पहिलो नेपाली हुन् ।

केन्द्रले संसारभरबाट आएका मानिसहरूलाई निःशुल्क संस्कृति, भाषिक, सिर्जनशील, सौन्दर्यहरू आदान–प्रदान गराउँदै हितैषी भावना जगाउने काम गर्नुका साथै मानिसहरूलाई निःशुल्क क्षमता वृद्धि तालिम प्रदान गर्दछ । केन्द्रले आफ्नो प्रदर्शनी कक्षमा हरेक महिना एक कलाकारको सिर्जनालाई समावेश गर्ने गर्दछ ।

फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’ को ब्यानरमा एक दर्जन फोटोग्राफरहरूका पैँतालीसवटा फोटोग्राफी सहभागी छन् । जहाँ आङ्देम्बेको ‘प्रेमको आकास’ ‘रङहरूको जङ्गल’ र ‘ईश्वरको रङ’ शीर्षकका तीनवटा फोटोहरू सहभागी छन् । यो प्रदर्शनी मे पहिलो हप्ताबाट सुरु भएर जुन महिनाभरि रहनेछ । नर्वेजियन फोटोग्राफरबाहेक आङ्देम्बे एक मात्र सहभागी विदेशीमूलका फोटोग्राफर हुन् । आङ्देम्बे भन्छन्, ‘हरेक कुराको भाष्य र मूल्य निर्माण गर्न आवश्यक हुने रहेछ । भाष्य र मूल्य निर्माण गर्नलाई संस्कार र संस्कृति निर्माण गर्नुपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महŒव बुझ्न पाएँ, सिक्न पाएँ ।’