‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती संघ, पशुपति सेवा विकास संस्था, नेकपा (माओवादी केन्द्र) महानगर कमिटी र रोटरी क्लबलगायत संघसंस्था आ–आफ्नो ब्यानर सहित आज सरसफाइमा सहभागी भएका थिए । सरसफाई बिहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएको थियो ।
पशुपति क्षेत्रमा आज सरसफाइ गर्नुका साथै वृक्षरोपण पनि गरिएको थियो । सो अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा ७२ फिटको राष्ट्रिय झन्डाको शिल्यान्यास गरेका थिए । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले नेपालको संस्कृति र सम्पदालाई जीवन्त जोगाइ राख्नका लागि हरेक हप्ता पशुपति क्षेत्रमा सरसफाइ गर्न जरुरी रहेको बताएका छन् । पशुपति क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउनुपर्ने उनको भनाइ थियो ।
—रासस
































