वराहक्षेत्र नगरपालिकाले नगरका सात वटा बैंकसँग सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्झौता गर्ने नीति लिएको छ ।   

बिहीबार नगरका बैंक तथा वित्तीय संस्थासँगको छलफलमा नगरमा सेवा प्रवाह गरिरहेका प्रभु, मितेरी,  सिटिजन, प्राइम, माछापुच्छ्रे, नेपाल इनभेष्टमेन्ट,  मेघा र एनआइसी एसियासँग सम्झौता गर्ने भएको हो ।

सम्झौता आर्थिक वर्ष २०८०।८१ मा गर्ने नगरप्रमुख रमेश कार्कीले जानकारी दिए । 

नगर प्रमुख कार्कीका अनुसार नगरवासीलाई वितरण गरिने सामाजिक सुरक्षा भत्तालाई सरल बनाउन नगरपालिकाले ‘एक वडा एक बैंक’ को योजना लागू गर्न लागेको हो । 

बैंकमा हुने सेवाग्राहीको चापको कारण सामाजिक सुरक्षा भत्ता वितरणमा असुविधा भएकाले सेवाग्राहीलाई उनीहरु बसेकै वडाबाट भत्ता वितरण गर्ने योजना बनाएको हो । अशक्त र जेष्ठ नागरिक सेवाग्राहीलाई भने घरमै गएर भत्ता उपलब्ध गराउनु पर्ने समेत बैंकहरुसँग सम्झौता गर्ने नगरको योजना छ । 

हाल नगरपालिकामा ९ हजार ८ सय ४२ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।