विराटनगर । कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै ‘पहिचानको लागि युवा’ समूहले प्रदर्शन गरेका छन् । विराटनगरमा शुक्रबार साँझ पहिचानको लागि युवाले कोशी प्रदेश खारेजको माग राख्दै प्रदर्शन गरेका हुन् । 

विराटनगरस्थित महेन्द्र चोकबाट निस्किएको शान्तिपूर्ण र्‍यालीले मुख्यमन्त्री रोडशेषचोक हुँदै ट्राफिक चोक भएर सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो । यसअघिको आन्दोलन उत्तेजित हुने गरेको थियो भने शुक्रबार ‘पहिचानको लागि युवा’ समूहको आन्दोलन शान्तिपूर्ण रहेको थियो । 

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनपछि विरोध सभामा बोल्दै पहिचानवादी नेताहरूले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण नगरे आन्दोलन थप कडा भएर जाने बताए । उनीहरूले पहिचानलाई दबाउन खोज्नेहरू राजतन्त्र जसरी समाप्त भयो, त्यसै गरी पहिचान विरोधीहरू पनि  समाप्त भएर जाने बताए । 

पहिचानको लागि युवाका संयोजक बिराज लिम्बुले गुण्डागर्दी शैलीमा राखिएको नाम खारेजी गरी पहिचानको आदरमा नामकरण गरिनुपर्ने बताए । पहिचानको आधारमा नामकरण नभएपछि यो आन्दोलनले निरन्तर पाउने उनले बताए । पहिचानको आधारमा नामकरण राख्न अहिलेको सरकारले पुनः बिचार  नगरे आन्दोलन कडा भएर जाने उनले बताए । 

कार्यक्रममा पहिचानवादी नेता अर्जुन जम्मेली राईले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरणमा पुनः विचार नगरे आन्दोलन सशक्त भएर जाने बताए ।