वराहक्षेत्र ।  वराहक्षेत्रको भूमिहीनलाई लालपुर्जा नदिनुमा वन र नापी शाखा बाधक बनेको भन्दै वराहक्षेत्र नगरपालिकाले रोष प्रकट गरेको छ । 

बुधबार सुनसरी जिल्लाको भूमि आयोगसँग नगरपालिकामा भएको संयुक्त बैठकमा बोल्दै नगरप्रमुख रमेश कार्कीले स्थानीयलाई निस्सा दिएर जग्गाको धनी पुर्जा वितरण सुरु गर्नै लाग्दा वन शाखाले पत्र पठाएर काममा रोक लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

‘हामीले वडा नम्बर ७ का ३ सय ३ घरधुरीलाई निस्सा वितरण गरि जग्गाको नापि पनि गरिसकेका छौँ, धनी पुर्जाको लागि काम सुरु गर्नै लाग्दा वनले रोकिदियो’, मेयर कार्कीले भने ।

उनले राष्ट्रिय भूमि आयोगको ऐन अनुसार १० वर्षदेखि कुनै पनि स्थानमा बस्दै आएकालाई जग्गाधनी पुर्जा दिने स्पष्ट व्यवस्था रहेको भन्दै वनले दादागिरी देखाएर लालपुर्जा दिनमा अवरोध गरेको बताए ।

२०२२ साल देखिको कोसी बाढी पीडितहरू नगरमा, विगत पाँच दशक अघि देखि बस्नै आएका छन् । तीव्र सहरीकरण बन्दै गएकोले प्रत्येक वडामा भोगचलन गरिगर्दै आएका नगरवासीलाई जग्गाधनी बनाउनु नगरको प्राथमिकता भएको उनले बताए । 

उनले भूमिहीनलाई जग्गाधनी बनाउन  वन र नापीले अवरोध गरे वराहक्षेत्र वासी विरोधमा उत्रने चेतावनी समेत दिए ।  उनले निस्सा वितरण हुन बाँकी नगरका सबै वडामा छिटै वितरण गरी नापी गरिने जानकारी दिए ।

बैठकमा बोल्दै राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेले, आयोगले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई धनिपुर्जा दिएर छिट्टै  नम्बरी  बनाउन प्रयास गरिरहेको भन्दै यस विषयमा केन्द्रीय सरकारले स्पष्ट नीति ल्याउनु पर्ने बताए ।

उनले भने  ‘यसको लागि आयोग काठमाणडौं कुदैको कुदै छ, भए भरका सबै मन्त्रीलाई भेटेको छौँ, तर हरेक पटक अदालतमा गएर रिट हालिदिने बिचौलियाले गर्दा अहिले सम्म लालपुर्जा बाँड्न नसकिएको हो । ’ 

नगरको साबिक वराहक्षेत्रमा ४ हजार बढी र अन्य वडामा रहेका सयौँ कोसी पीडितले धेरै वर्ष देखि क्षतिपूर्तिको माग गर्दै आएका छन् ।