विराटनगर । विराटनगरबाट ३६  तोला चाँदीका गरगहनासहित चोरी आरोपमा मोरङ प्रहरलिे तीन जनालाई पक्राउ गरेको छ ।  विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र  २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको मोरङ प्रहरीका एसपी दिपक पोखरेलले जानकारी दिए । पक्राउ परेका प्रतिवादी र बरामद गरेको चाँदीसहित तीन जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ ।

उनीहरुले गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जयकिशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चोरका गिरोह हुन् । उनीहरू पेसेवर चोर रहेको प्रहरीले जनाएको छ । २० तोला सुन र ३६ तोला चाँदी १५ मिनेट भित्रमा चोरेर फरार भएको एसपी पोखरेलले जानकारी दिए ।

‘घरको ढोका फोरेर भित्र प्रवेश गरेको १५ मिनेट भित्रमा चोरेर सुन र चाँदी ब्यागमा हालेर फरार भएको खुलेको छ,’ उनले भने । चोरी गरेपछि गिरोह विराटनगरस्थित दिव्य रत्न होटलमा बसेका थिए । चोरी गरेको चाँदी भारत बिक्री गर्न लैजान खोज्दा प्रहरीले उनीहरुलाई विराटनगर १२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई चोरी गरेको एक हप्तापछि जेठ १० गते पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको प्रहरीले जनाएको छ । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताए ।