‘गाँजा खेतीबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने भएता पनि मौजुदा कानुनलाई पालना गर्नुपर्ने बाध्यता छ ।’ –गाँउपालिकाका अध्यक्ष मनोज राई
‘ग्रामिण क्षेत्रमा बढी गरिबी, अशिक्षा, आर्थिक अभाव, पछौटेपन र विकास पछि परेकाले  बाध्यात्मक रुपमा आय–आर्जनको मुख्य माध्यम भएकाले यहाँका किसानले गाजाँ खेती रोजेका छन् ।’ – सावित्रा राई, जिसस उपप्रमुख
‘समाजमा शान्ति सुव्यवस्था सदाचार कायम राख्नका लागि  मौजुदा कानुन विरुद्धमा कोही पनि जान हुँदैन ।’ – थानेश्वर गौतम, सिडिओ 

लागूऔषध प्रयोगबाट हुने नकारात्मक प्रभाव, असर, क्रियाकलापमा संग्लनलाई हुने दण्ड सजाय र लागूऔषध प्रयोगबाट समाजमा पर्ने नकारात्मक असरबारे धनकुटाको सहिदभूमि गाउँपालिकामा अन्तरर्किया गरिएको छ ।

लागूऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रियामा जिल्ला प्रहरी नायब निरीक्षक डम्बर थापाले लागूऔषध नियन्त्रण ऐन २०३३ का बारे जानकारी गराए । 

अन्तर्क्रियाका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख सावित्रा राईले ग्रामिण क्षेत्रमा बढी गरिबी, अशिक्षा, आर्थिक अभाव, पछौटेपन र विकास पछि परेकाले  बाध्यात्मक रुपमा आय–आर्जनको मुख्य माध्यम भएकाले यहाँका किसानले गाजाँ खेती रोजेको बताए ।

उनले त्यस्ता किसानलाई अन्य वैकल्पिक खेतीतर्फ आकर्षित गरी लागूऔषधजन्य खेतीपातीको वैकल्पिक खेतीतर्फ प्रेरित गरे लागूऔषधका सबैखाले क्रियाकलापबाट मुक्त राख्न सकिने धारणा राखेका थिए ।

किशोर किशोरी, युवाहरु अन्य लागूऔषध जन्य क्रियाकलापमा संलग्न हुँदा मानव संसाधनको विकासमा समेत असर पर्ने भएकाले जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत सबैको सहकार्य र समन्वयबाट लागूऔषध उन्मुलनमा लाग्नु पर्नेमा उनले जोड दिए । 

सहिदभूमि गाँउपालिकाका अध्यक्ष मनोज राईले लागूऔषध समूहभित्र गाजाँलाई राखिए पनि यसबाट धेरै फाइदा रहेको बताए । उनले गाँजा खेतीबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने भएता पनि मौजुदा कानुनलाई पालना गर्नुपर्ने कर्तव्य सबैको भएको बताए । 

राईले भने– ‘खाल्सा क्षेत्रमा भइरहेको गाँजा खेतीलाई वैकल्पिक व्यवसाय गरेर न्युनीकरण गर्दै लैजानु पर्छ ।’

त्यस्तैगरी जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख थानेश्वर गौतमले समाजमा शान्ति सुव्यवस्था सदाचार कायम राख्नका लागि  मौजुदा कानुन विरुद्धमा कोही पनि जान नहुने बताए ।

अन्तर्कियामा सहिदभूमिका वडाहध्यक्षहरु, वडासचिवहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कार्यपालिका सदस्य, राजनीतिकदलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरु लगायतका सहभागिता रहेको थियो ।