धरान । कोशी प्रदेशका सांसद्लाई ल्यापटप बाँड्ने योजना फिर्ता भएको छ । प्रदेशसभाले सय वटा ल्यापटप खरिद गर्ने योजना फिर्ता लिएको हो ।

ल्यापटप बाँड्ने योजनाको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले नै विरोध गरेपछि योजना फिर्ता भएको हो । सांसद्हरूलाई बाँड्न भनेर टेण्डर आह्वान गरिएको ल्यापटप खरिदको टेण्डर रद्द गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुलुक आर्थिक सङ्कटमा रहेको बेला प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेको थियो । सांसद्हरू र नागरिक तहबाट पनि सो निर्णयको विरोध भएपछि सत्तारूढ एमालेको संसदीय दलले पनि ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो ।

प्रमुख दल र सांसद्हरूले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा पछि हटेको हो । कोशीको बजेट अधिवेशन जेठ १४ गते आइतबार सुरु हुँदैछ । त्यसअघि नै प्रदेश सभाले टेण्डर रद्द गरेको छ ।