नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवाको सङ्ख्या देशमा घट्दै जानु सुखद नरहेको बताएका छन्  । शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को समापन समरोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताएका हुन्  ।

“युवाले पार्टी र देशबाट के खोजिरहेको रु यो बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो सङ्केत होइन । युवालाई काङ्ग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासङ्घले समेत भूमिका खेल्नु जरुरी छ”, उनले भने । उनले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रीत भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिए । 

नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकार गरे । “कलाकारलाई चिन्ने र बुझ्ने गिरिजा बाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौँ”, उनले भने, “समयानुकूल परिमार्जित गर्दै महासङ्घलाई अगाडि बढाउनु जरुरी छ । यहाँ काङ्ग्रेस नभएता पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।” उनले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नु पर्ने विचार समेत राखे । 

भेलामा देशभरबाट सांस्कृतिककर्मीको उपस्थिति रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिए । “सातै प्रदेशबाट प्रतिनिधि आउनुभएको छ । यस भेलाले महासङ्घलाई बढ्न मार्गदर्शन समेत दिएको छ”, महामन्त्री रिजालले भने । उनले छ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेको समेत जानकारी दिए । भेलाको उद्घाटन दिउँसो कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गरेका थिए  ।