डा सन्दुक रुइत (गड अफ साइट) जीवनी कक्षा १० को नेपाली विषयबाट हटाइएको विषयमा आलोचना खेपिरहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको सचिवालयले खण्डन वक्तव्य निकालेको छ ।
वक्तव्यमा मन्त्री राईले जिम्मेवारी सम्हाल्नु अघि नै पाठ्यक्रम परिमार्जनसम्बन्धि निर्णय भएको उल्लेख गरिएको छ ।
'पाठ्यक्रम विकास केन्द्रले २०७९ वैशाखदेखि कक्षा ५, ८ र १० को पाठ्यक्रम परिमार्जन गर्ने निर्णयसहित प्रक्रिया सुरु गरी २०७९ फागुनमै सबै प्रक्रिया पूरा गरी परिमार्जित किताब छपाइका लागि प्रेसमा पठाएको थियो र हाल सोही परिमार्जित नयाँ पाठ्यपुस्तक विद्यार्थीहरुलाई वितरण गरिएको हो ।' प्रेस वक्तव्यमा भनिएको छ ।
मन्त्री राईको सचिवालयले पूर्वाग्रही किसिमबाट गलत प्रचार गरिएको उल्लेख गरेको छ ।
'जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष समेत रहनुभएका माननीय अशोक कुमार राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै भएको निर्णयलाई अहिले आएर जानाजान उहाँले नै डा. रुइतको जीवनी हटाएको भन्ने पूर्वाग्रही किसिमबाट गरिएका गलत प्रचार र भ्रममा नपर्न हामी सबैमा हार्दिक अनुरोध गर्न चाहन्छौँ ।' प्रेस नोटमा भनिएको छ, 'बरु, माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले हाल डा. सन्दुक रुइतले स्थापना गर्नुभएको तिलगङ्गा आँखा अस्पताललाई छुट्टै विश्वविद्यालयको रुपमा विकास गर्न सम्बन्धन दिने निर्णय गरिसक्नुभएको र सोका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी गराउन चाहन्छौँ ।'
सामाजिक सञ्जालमा केही व्यक्तिले मन्त्री राईले नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयबाट हटाएको भनी गलत प्रचार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
डा. सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयबाट हटाइएपछि जनस्तरमा व्यापक विरोध भएको छ।
मन्त्री राईको सचिवालयले पाठ्यक्रम परिमार्जनका क्रममा विश्वप्रख्यात नेत्र रोग विशेषज्ञ डा. रुइतको जीवनी हटाइएकोमा दुःख लागेको उल्लेख गरेको छ ।
'उहाँको जीवनी कक्षा १० को नेपालीबाट हटाइए पनि सोही कक्षाको सामाजिक अध्ययन र विज्ञान तथा प्रविधि विषयमा फरक तरिकाले समेटिएको साथै कक्षा ७ को अंग्रेजी र कक्षा ८ को नेपाली विषयमा राखिएको जनाएको छ ।' प्रेस नोटमा भनिएको छ ।
शिक्षा मन्त्री अशोक राईले सन्दुक रुइतको जीवनी हटाएको होइन: सचिवालय
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































